गुगल तस्विर ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा दुध बोक्ने ट्याङ्कर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याङ्कर चालक हेटौंडा–९, एचआइडीका ३४ वर्षीय सिद्धान्त लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–सिन्धुली सडकअन्तर्गत तीनतलेमा बुधबार बिहान ११ बजेर ३० मिनेको समयमा हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफैँ अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालक लामा र सहचालक धादिङ गजुरीका ४५ वार्षीय प्रेम अधिकारी घाइते भएका थिए ।

घाइते भएका दुबैजनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चालक लामाको उपचारको क्रममा दिउँसो साढे १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक अधिकारीको दाहिने खुट्टाको घुँडा मुनी फ्याक्चर भएको प्रहरीले जानकारी दिएको छ ।