हेटौंडाः ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौँडामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका १९ वटा वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५/५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लैरो र मोबाईल फोन वितरण गर्नुभएको छ । कार्यक्रममा उपमहानगरपालिको महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न वडा–वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको जानकारी दिनुभयो । यस्तै उहाँले आगामी दिनमा नगरस्तरीय ज्येष्ठ नागरिक मञ्च गठन गरिने पनि बताउनुभएको छ । ज्येष्ठ नागरिकको हकमा हेटौंडा उपमहानगरपालिकाले धेरै काम गर्दै आएको लामिछानेले दावी गर्नुभयो ।
सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, १० नम्बर वडाअध्यक्ष फुर्वादोर्जे लामा, ज्येष्ठ नागरिक मञ्च मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देल, ओम वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले गीत, कविता वाचन गरेका थिए ।











