हेटौंडाः हिंसापीडित महिलालाई उद्दार गरी सुरक्षित राख्न हेटौंडा उपमहानगरपालिकाले सेफ हाउस निर्माणको कार्य सुरु गरेको छ । बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले कुल ४० लाख रुपैयाँ बजेटमा सेफ हाउस निर्माण गर्न लागेको हो । सेफ हाउस निर्माण गर्न बागमती प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
सोमबार हेटौंडा–११, थानाभर्याङमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मीनाकुमारी लामाले सेफ हाउसको सिलान्यास गर्नुभएको छ । सेफ हाउस ५ कोठे हुने र चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उपमेयर लामाले बताउनुभएको छ । एक कठ्ठा जमिनमा उपमहानगरपालिकाले सेफ हाउस निर्माण गर्न लागेको हो । सेफ हाउसको अभावमा हिंसापीडित महिलालाई उद्दार गरी सुरक्षित राख्न समस्या हुने गरेको छ ।