हेटौंडाः आज बिहान खसेको सुख्खा पहिरोका कारण हेटौंडा–कुलेखानी–काठमाडौं छोटो मार्गको भीमफेदी–कुलेखानी खण्ड अवरुद्ध भएको छ । बाटो विस्तारको काम भइरहेको भीमफेदी–कुलेखानी खण्डको जुरिखेतमा आज बिहान सवा ६ बजेको समयमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
सुख्खा पहिरो ठूलै खसेको र पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । लकडाउनको बेलामा पनि उक्त सडकखण्ड विस्तारको कार्य भइरहेको छ । प्रदेश सरकारको बजेटमा बाटो फराकिलो बनाउने कार्य भए पनि सडकको ढल बनाउने र सडकको स्तरीकरण गर्ने कार्य भने भइरहेको छ ।