हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको दलित युवाको हत्याकाण्डको बिरोधमा दलित संजाल मकवानपुरले आज मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छन् । आज बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल दलित मुक्ति संगठनका केशव रसाईलीले जानकारी दिनुभयो ।
भौतिक दुरी कायम गरी २० जनाले एक घण्टा धर्ना दिने कार्यक्रम रहेको रसाईलीले बताउनुभयो । यसअघि जेठ १६ गते दलित समुदायका विभिन्न संघ, संस्थाका प्रतिनिधिले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका थिए । जिल्लामा क्रियाशील दलित समुदायका विभिन्न संगठनले भोलि बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । दलित युवकले मल्ल थरकी युवतीसँग प्रेम बिवाह गर्न खोज्दा केटीका परिवार र गाउँलेको आक्रमणमा जेठ १० गते दलित केटासहित ६ जना युवाको हत्या भएको थियो ।