हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीको विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ । विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत ३ सय ६८ जना विद्यार्थीले आफुले तयार पारेका सामग्रीहरुको प्रदर्शनी गरेका छन् । विद्यार्थीहरूको सिर्जनात्मक विकास र खोज अनुसन्धान गर्ने क्षमताको विकास हुने हुँदा प्रोत्साहित गर्ने उद्देश्यले प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिनुभयो ।
विद्यार्थीको प्रतिभा पहिचान गरी विद्यालयले आवश्यक लगानी गरेर प्रदर्शनीको आयोजना गरिएको प्रिन्सिपल सुवेदीले बताउनुभयो । ९२ वटा फरक–फरक प्रकारका सामग्रीहरु विद्यार्थीले तयार पारेर प्रदर्शनीमा राखेका थिए । विद्यार्थीलाई विज्ञान सामग्री बनाउन सहयोग गर्ने गरी विद्यालयका शिक्षक देवराज ढुंगेलको संयोजकत्वमा तीन सदस्यीय शिक्षक समूहकै निर्माण गरिएको छ । शिक्षक समूहको सदस्यमा आरती साह र रुपेश चौहान रहनुभएको छ ।
शिक्षकको सहजीकरणमा विद्यार्थीले सिक्दै तयार पारेका सामग्रीहरूको प्रदर्शनीले विद्यार्थीको दीगो एवम् प्रभावकारी सिकाई सम्भव हुने विश्वास गरिएको शिक्षक देवराज ढुंगेलले जानकारी दिनुभएको छ । प्रदर्शनीको तयारीका लागि पाँच दिनको समय लागेको थियो । विद्यार्थीले खोज र अनुसन्धान गरी तयार पारेका सामग्रीको अभिभावक, विद्यार्थी, शिक्षासम्वद्ध निकायका पदाधिकारीले अवलोकन गरेका थिए ।
बालजागृतिले काठमाडौंस्थित कारखाना समूहसँगको सहकार्यमा प्राथमिक तहदेखि नै विद्यार्थीलाई स्टिम अवधारणामा शिक्षण क्रियाकलाप गर्दै आएको छ । सबैखाले विषयको अध्ययन, अध्यापनका लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयको एकीकृत अवधारणामा क्रियाकलाप गराउने गरी कारखाना समूहले स्टिम परियोजना सञ्चालन गर्दै आएको छ । कारखाना समूहले तयार पारेको शैक्षिक सामग्रीको झोला (कारखाना किट) ३ जना विद्यार्थी बराबर एक गरी विद्यालय आफैँले वितरण गरेको छ ।











