हेटौंडाः हेटौंडाका व्यवसायीहरु व्यवसाय सुचारु गर्न अग्रसर भएका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लकडाउनका बेला पनि आवश्यक सुरक्षा सतर्कता कायम गरी व्यवसाय सुचारु गर्न, गराउन स्थानीय प्रशासनसँग आग्रह गर्न व्यवसायीले उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघ मातहतकै वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिको सहभागितामा आज सोमबार उद्योग वाणिज्य संघमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा छलफल भएको थियो ।
छलफलमा खाद्यान्न तथा तरकारीजन्य व्यवसाय सञ्चालनका लागि बिहान ९ बजेसम्म बजार खुला राख्ने समयमा अन्य व्यवसायलाई पनि कारोबार गर्ने वातावरण बनाउन स्थानीय प्रशासनलाई आग्रह गर्ने निर्णय भएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । लामो समयदेखि व्यवसाय बन्द हुँदा व्यवसायी मर्कामा परेका र उपभोक्ताले पनि वस्तु खरिद गर्न नपाउँदा दैनिकी असहज भएको भन्दै व्यवसायीले सतर्कता अपनाएर व्यवसाय गर्ने वातावरण बनाउन संघले पहल गरिदिनुपर्ने माग गरेका छन् ।
व्यवसायीको आग्रहअनुसार संघले भोलि मंगलबार बस्ने प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कमाण्ड पोष्टको बैठकमा व्यवसाय सुचारु गर्न आग्रह गर्ने निर्णय भएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल कमाण्ड पोष्टकै सदस्य भएकोले व्यवसायीसँगको छलफलमा सहभागी नहुनु भएको उपाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
बजार खुलाउने विषयमा स्थानीय प्रशासनले पनि सकारात्मक देखिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले व्यवसायीले बजार खुला गर्न माग गरिरहेको सन्दर्भमा आजै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग छलफल भएको जानकारी दिनुभयो । लकडाउनकै व्यवस्थापनका विषयमा जानकारी लिन मुख्यमन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारी नेपालसहित जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललाई बोलाउनु भएको थियो ।
मुख्यमन्त्रीले बजार खुलाउने विषयमा सकारात्मक धारणा राख्नु भएको उल्लेख गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो, ‘बजार खुलाउने विषयमा प्रदेश सरकार र स्थानीय प्रशासन सकारात्मक भए पनि संघीय सरकारको गृहमन्त्रालयको निर्देशन विपरित जानु समस्या हुनेछ ।’ भोलिको कमाण्ड पोष्टको वैठकमा व्यवसायीका मागलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल हुने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।