बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा भएको प्रथम हस्तकला प्रवद्र्धन मेला बिहीबार समापन गरिएको छ । संविधान दिवसको अवसर पारेर बागमती प्रदेश हस्तकला संघ र प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रबद्र्धनमा आयोजना गरिएको दुई दिने हस्तकला मेला समापन भएको हो ।

हस्तकला मेला समापन कार्यक्रममा मेलामा सहभागी व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले राजनीतिको विषयमा धेरै कुरा भएकाले अब आर्थिक विषय प्रमुख हुनुपर्ने बताउनुभएको छ । उहाँले आर्थिक विषय, समृद्धिको विषय र जनताको प्रत्यक्ष सरोकारको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

मन्त्री चित्रकारले हस्तकला संस्कृति र सम्पदासँग जोडिएको विषय भएकाले अब बागमती प्रदेशको अर्थतन्त्रको मेरुदण्ड हस्तकलालाई बनाउन व्यावसायिक ढंगले सोच्नुपर्ने बेला आएको बताउनुभयो । औद्योगिक विकास एवम् हस्तकला प्रवद्र्धनमा प्रदेश सरकारले गम्भीर भएर सोचिरहेको भन्दै उहाँले केही समयदेखि थन्केर रहेको हस्तकला ग्रामसम्बन्धी विधयेक आगामी मन्त्रिपरिषद्मा छलफलमा लैजाने तयारीमा रहेको बताउनुभयो ।

प्रथम हस्तकला प्रवद्र्धन मेलाको समापन कार्यक्रममा हेटौंडा–२ नम्बर वडाध्यक्ष विष्णुगोपाल महर्जन, बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यलगायतको उपस्थिति रहेको थियो ।