साक्षरता भन्नाले अक्षर चिनेको वा जानेको लेखपढ गर्न सक्ने अल्पशिक्षितलाई जनाउँदछ । व्यापक अर्थमा भन्नुपर्दा साक्षरता भन्नाले प्रयोगको कुनै विशिष्ट सन्दर्भका लिखित रुपमा विचारहरु बुझ्ने वा व्यक्त गर्ने उद्देश्यका साथ पढ्न र लेख्न जानेको भन्ने बुझिन्छ । यस्तैगरी मानिसको लेखपढ गर्न सक्ने क्षमतामा वृद्धि गर्नु, विकास गर्नुलाई नै साक्षरता प्रवद्र्धन भनिन्छ ।
शान्तिले समाजमा खुशी र आनन्द ल्याउँछ । कार्य वातावरणमा सहजता तथा स्फूर्ती बढाउन शान्तिपूर्ण वातावरण आवश्यक पर्छ । त्यसैले लामो समयसम्म टिकाउ भएको दिगो, सुख, समृद्धि र शान्ति भएको समाजलाई दिगो र शान्तिपूर्ण समाज भनिन्छ । यस्ता शान्तिपूर्ण समाजको आधारभुत तत्व मानव अधिकार र विधिको शासन हो । शान्तिपूर्ण समाज र साक्षरता एक रथको दुई पाङ्ग्रा जस्तै हो । यदि समाजमा शिक्षित व्यक्ति भएनन् भने समाजमा शान्तिको स्थापना गर्न कठिन हुन्छ । शान्तिपूर्ण समाजको निर्माण गर्नको लागि लेखपढ गर्न सक्ने, दक्ष, योग्य भएको साक्षर व्यक्तिको आवश्यकता पर्छ । साक्षर व्यक्तिले मात्र शान्तिपूर्ण समाजको निर्माण गर्न सक्छ । यदि कुनै व्यक्ति शिक्षित छैन, उसलाई समाजमा हुने गतिविधिहरुको बारेमा राम्रोसँग ज्ञान प्राप्त भएको हुँदैन । जसले गर्दा समाजको विकासमा नकारात्मक असर पर्दछ ।
समाजमा शिक्षित व्यक्तिहरु नभएपछि देशलाई र व्यक्तिलाई साक्षर घोषित गर्न सकिँदैन । त्यसैले देशमा दिगोरुपमा शान्तिपूर्ण समाजको निर्माण गर्न साक्षरताको विकास गर्नुपर्छ । व्यक्ति साक्षर भएपछि विभिन्न ज्ञान व्यवहारहरु सिक्छ, सीपहरु आर्जन गर्छ, जिम्मेवारी वहन गर्छ र समाजको असल नागरिक तथा सदस्यका रुपमा स्थापित हुनसक्छ । त्यसैगरी शिक्षा हासिल गरिसकेपछि समाजका हरेक मानिसले समाजका मुल्यमान्यता ग्रहण गर्ने, मेलमिलाप, सहकार्य, सहयोगको आदानप्रदान गर्ने तथा आपसी सम्मानको व्यवहार सिक्ने हुनाले समाजमा झैझगडा हुँदैन र शान्तिपूर्ण समाजको सिर्जना हुन सक्छ । यही सीप उनीहले आफ्नो जीवनको व्यवहारमा उतार्न सक्छन् र भविष्यमा शान्तिपूर्ण समाज स्थापना गर्न सक्छन् । यसबाहेक उनीहरुलाई कुशल नागरिकका रुपमा विकास गर्न सहयोग पुग्छ । आफु साक्षर भइसकेपछि व्यक्तिको व्यक्तित्वको विकास गर्न सजिलो हुन्छ ।
समाजका क्रियाकलापमा सहभागी भई नकारात्मक विचारहरु हटाई सकारात्मक सोच र चिन्तनको व्यवहार सिकाउँछ । यसबाट मानिसले जीवनयापनका लागि आवश्यक व्यवहारिक ज्ञान प्राप्त गरी देश र समाजको विकास राम्रोसँग गर्न सक्छन् । साक्षरता प्राप्त गर्नका लागि मानिसहरुले लगनशील भएर पढ्नु र लेख्नुपर्छ । पढ्ने र लेख्ने बारेमा भएको विश्वासले समाज र व्यक्तिको लागि यसको मुल्यले जीवनकालमा साक्षरतालाई अभिवृद्धि गर्दछ भने समाजका हरेक व्यक्तिले आ–आफ्नो जिम्मेवारी वहन गर्न सक्छन् । अहिलेको अवस्थामा पढ्ने र लेख्ने बारेमा रहेकोे विश्वासले समाज र व्यक्तिका लागि यसको मूल्यले जीवनकालमा साक्षरतालाई अभिवृद्धि गर्दछ भने यसले सिकाउने कुरा र अभ्यास गर्ने तरिकाबाट पनि शान्तिपूर्ण समाजको निर्माण गर्न सकिन्छ । यसैलाई आधार मानेर साक्षरता र शान्तिपूर्ण समाज “एउटा सिक्काको दुईटा पाटा”पनि भन्न सकिन्छ । शान्ति प्राप्त गर्नका लागि कानुनी शासन, दण्डहीनताको अन्त्य, नागरिक सचेतना, जागरण, न्यायमा समान पहँुच तथा निष्पक्ष न्याय सम्पादनको आवश्यक पर्छ । यी सबै कुराहरु साक्षरता प्राप्त भएको व्यक्तिले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । विकासका लागि शान्ति आवश्यक पर्छ । समाजको विकास शान्ति आवश्यक पर्छ । समाजको विकास शान्ति भयो भने मात्र हुनसक्छ । अहिलेको समयमा शान्तिलाई भङ्ग गर्नका लागि विभिन्न द्वन्द्वसँग जोडिएको मानिसहरु बढी मात्रामा भेटिन्छन् । यसकारण पनि सामाजिक न्याय, मेलमिलाप र सुधार हुन सकेको छैन । सरकारले शान्ति सम्झौतामा हस्ताक्षर गरेको १५ वर्ष पुगेपनि साक्षर व्यक्तिहरुको अभाव सिर्जना भएकोले देशमा शान्ति कायम भएको छैन । तत्कालीन समयमा हुने गरेको हत्या, हिंसा, अपहरण, बेपत्ता जस्ता क्रियाकलापहरु त कम हुँदै गएपनि व्यक्तिहरुबीचको युद्ध भने कम हुन सकेको छैन ।
समाजमा हुने विभिन्न द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घट्नामा संलग्न भएका व्यक्तिले दिनानुदिन उन्मुक्ति पाउँदै गरेको पाइन्छ । जसका कारण मानव अधिकारकर्मी र मानवअधिकार रक्षकको भूमिका र खबरदारी सुदृढ बनाउन एकीकृत पहलकदमी आवश्यकता पर्दछ ।
मानवअधिकार उल्लङ्घन तथा अपराधका घट्नामा किटानी उजुरी परेका तत्कालीन विद्रोहीहरु राज्यका माथिल्लो निकायमा पुगेर कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्न सकियो भने पनि शान्तिपूर्ण समाजको स्थापना हुनसक्छ । समाजमा शिक्षित व्यक्तिहरु नभएपछि समाजको विकास पनि हुन सक्दैन । शिक्षा नै सामाजिक सुधारको मुख्य आधार हो । साक्षरताको कमी भयो भने समाजमा अन्धकार छाउँदछ । यदि प्रत्येक व्यक्ति शिक्षित हुन सक्यो भने समाज पनि शिक्षित हुनसक्छ र विकासको बाटोतर्फ डो¥याउन सक्छ । समाजमा हुने नराम्रा घट्नाले पीडित समुदाय, मानव अधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा शान्ति स्थापनातर्फ भएका प्रयासमा शंका उत्पति गराइरहेको छ । दण्डहीनताले समाजमा अपराध बढाएको छ जसले समाजमा शान्ति ल्याउन कठिन भइरहेको छ । शान्तिपूर्ण समाजको निर्माणमा धेरै जनचेतना फैलाउन आवश्यक छ । समाजका सबै मानिसहरु बराबर हुन भन्ने धारणाको पनि विकास हुन सकेको छैन । यदि समाजमा सबै मानिस समान हुन भन्ने धारणाको विकास गर्न सकियो भने समाजमा शान्ति सिर्जना हुनसक्छ । यसका लागि साक्षरताको विकास हुनुपर्दछ ।
शान्तिपूर्ण समाज निर्माण गर्नका लागि सामाजिक न्याय, लोकतन्त्र, मानवअधिकारलाई बढी महत्व दिन आवश्यक छ । समाज शिक्षित बनाउन प्रत्येक व्यक्ति शिक्षित भई दक्ष हुन आवश्यक छ । त्यसैले दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको विकास हुन अति आवश्यक छ भन्न सकिन्छ ।
कक्षा–१२, चण्डिका मावि, मकवानपुर गढी–३,









