जयन्ती आचार्या

गिजुभाई (१८८५–१९३९) शिक्षा क्षेत्रका एक जाज्वल्यमान तारा मानिन्छ । पेसाले वकिल भएपनि मन्टेश्वरी पद्दतिलाई गहन अध्ययन गरी बालमन्दिरमा प्रयोग समेत गरे । बाल देवो भवः नाराको सुरुवात समेत गरेका उनले २०० भन्दा बढी पुस्तकहरू लेखेका छन् भने जसमध्ये २० भन्दा धेरै पुस्तकहरू शिक्षक, विद्यार्थी र अभिभावकमा केन्द्रित भई तयार पारिएको छ । दिवास्वप्न पहिलो पटक सन १९३० मा गुजरातीभाषामा प्रकाशित भएको थियो भने १९३२ मा हिन्दीमा प्रकाशित भएको थियो । लगभग एक शताब्दी पहिले प्रकाशित पुस्तकलाई शरदचन्द्र वस्तीले नेपाली भाषामा अनुवाद गरेका हुन् । यो पुस्तक अनुवादको पनि अनुवाद हो ।

प्रथम पुरुष दृष्टि विन्दुबाट सुरु भएको यस कथाको प्रमुख म पात्रशङ्कर सर रहेका छन् । कथाअनुसार म पात्रले पढेको कुरालाई प्रयोग र परीक्षण गरी विद्यालय शिक्षामा सुधार गर्ने उद्देश्यले विद्यालयमा अध्यापन गराउँछु भनी पटक–पटक शिक्षा अधिकारीलाई अनुरोध गरे । धेरै अनुरोध पश्चात् कक्षा चारमा अध्यापन गराउन अनुमति पाए । जसमा उनले आफ्नो प्रयोग जारी राख्ने र परीक्षा प्रणाली समेत लागु गर्न नहुने कुरालाई राखेका थिए । आफ्नो योजनाअनुसार कक्षामा पुग्दा बालबालिकालाई पढाउने वा सिकाउने क्रममा पहिलो गाँसमा नै उनलाई ढुङ्गो लागेको थियो । तैपनि आफ्नो प्रयास जारी राख्दै खेल, कथाकथन, चित्राङ्कन मात्र नभई अध्ययन भ्रमणको माध्यमबाट विद्यार्थीको चरित्र निर्माणको साथै व्यवहारिक र शैक्षिक ज्ञान दिन समेत सफल भए ।

सुरु सुरुको समयमा प्रधानाध्यापक, विद्यालय प्रशासन र अन्य शिक्षकहरू समेत उनको विरुद्धमा थिए भने उनको प्रयोग काम नलाग्ने शैक्षिक बाटो मात्र नभई विद्यार्थी अलपत्र पार्ने प्रक्रिया भनी खुब निन्दा गरिन्थ्यो । तर विद्यार्थीको चरित्र निर्माण गर्न लौरो नभई कथाकथन नै प्रमुख माध्यम र खेल प्रमुख साधन हो भनी उनी अगाडि बढे र अन्ततः आफ्नो प्रयोगलाई सफल पार्न शंकर सर मात्र सफल भएनन् अन्य शिक्षक, प्रधानाध्यापक, शिक्षा अधिकारी र शिक्षा डाइरेक्टर समेत प्रभावित भई त्यस्तै ढङ्गबाट पठन–पाठन अगाडि बढाउनु पर्ने कुरामा सहमत भए ।

साँच्चै भन्नुपर्दा प्रारम्भिक तहमा बालबालिकाको पढाइ बिग्रिएमा माथिल्लो तहमा सुधार गर्न कठिन हुने हुनाले प्रारम्भिक तहबाट नै शिक्षामा परिवर्तन गर्न जरूरी छ । दमित मानसिकताले ज्वाला निम्त्याउन सक्ने हुनाले बालबालिकालाई डर, त्रास र कर भन्दा पनि प्रयोग र कल्पनाको सागरमा डुबाएर अध्यापन गर्न सकेमा शिक्षा प्रभावकारी र दिगो हुने कुरामा दुईमत छैन । गुरू र शिष्यबीच सौहाद्र्धपूर्ण वातावरण तयार गरी गुरु (शिक्षक)ले मित्रवत् व्यवहार तयार गर्न सकेमा सिकाइ दीर्घकालिन एवम् फलदायी हुन पुग्दछ भन्ने कुरा पनि प्रस्तुत पुस्तकमा प्रयोग र परीक्षणबाट प्रष्ट पारिएको छ ।

पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षा प्रणालीको विरुद्धमा लेखिएको यो पुस्तक अध्यापकहरुका लागि रामवाण बन्न सक्छ । पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षा प्रणाली नै प्रमुख साधन र साध्यको रुपमा लिएर घोकन्ते शैक्षिक प्रणालीमा जोड दिने कैयौं अध्यापकका लागि यो एउटा कथा सीमित कथा मात्र हो । तर साँच्चै भविष्यका कर्णधार निर्माण गर्नु छ भने यस्तो सीमालाई तोडी अगाडि बढ्नुको विकल्प अरु छैन ।

किताब–कापीका गह्रुङ्गो झोला बोकाएर स्कुल पठाउँदा र घर फर्किएपछि सासै फेर्न नदिई एकोहोरो गृहकार्य गराउने वा गर्नुपर्ने चाहना राख्ने अभिभावक वर्गले समेत यो पुस्तकको अध्ययन गर्नु जरुरी छ । आफ्ना नानीबाबुले के सिके ? उनीहरूको चरित्र कस्तो हुँदैछ ? दैनिक सरसफाइमा कतिको ध्यान छ ? उनीहरुको मनमा डर छ या छैन ? जस्ता पक्षमा पनि अभिभावक समयमा नै सचेत हुनुपर्ने कुरामा समेत जोड दिइएको छ । घाँटीमा टाई झुण्ड्याएर गह्रौ झोला बोकी विद्यालय पुगेर आउँदैमा नानीबाबुमा सिकाइ हुन्छ भन्ने छैन ।

सुगा रटाई शैक्षिक प्रणालीबाट बालबालिकालाई टाढा राखी कल्पनाको सागरमा डुबाई शिक्षक एक असल मित्र बन्न सकेमा सिकाइ प्रभाकारी बन्न सक्छ । शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्मक सम्बन्ध स्थापित गरी कलिला मुनाहरुलाई कुशलतापूर्वक हुर्काउन सकिन्छ । शिक्षाको मूल्याङ्क प्रणालीमा समेत विशेष परिवर्तनको साथै विद्यालय प्रशासनको समेत यस पक्षमा स्पष्ट नीति हुनु पर्दछ । विद्यार्थीको वैयक्तिक विभिन्नतालाई समयमा नै पहिचान गरी विभिन्नताअनुसार सिपमूलक, व्यवसायिक, व्यवहारिक एवम् पेशागत शिक्षावा ज्ञान दिनुपर्ने कुरा समेत प्रस्तुत पुस्तकले उजागर गरेको पाइन्छ ।

अतः गिजुभाइले आफ्नो चिन्तनलाई आफैं अग्रसर भई आफैं खटेर आफै उदाहरण बने जस्तै आम शिक्षक शिक्षिकाले पनि कक्षाकोठा, शिक्षक पाठ्यपुस्तकमात्र आधारभूत स्रोतसाधन नभई सूचना र प्रविधिको विकासलाई समेत आत्मसात गर्दै विद्यार्थीलाई मात्र मूल्याङ्कनको कसीमा नराखी शिक्षक स्वयम्ले आफ्m्नो स्वमूल्याङ्कन गर्न सकेमा शैक्षिक प्रणालीले फड्को मार्न सक्छ । बालबालिकाको सम्मान, स्वतन्त्रता र अधिकारको पक्षमा शिक्षक र अभिभावक जति जुट्न सकिन्छ त्यति नै शैक्षिक प्रणाली पनि विकसित हुन सक्छ ।
(आचार्य हेटौँडा–५ स्थित जिएस निकेतनकी शिक्षक हुनुहुन्छ ।)