हेटौंडा–११, डाङडुङेस्थित आनन्दभैरव आधारभूत विद्यालयमा पाठ्यपुस्तक वितरणको कार्य गर्दै विद्यालयका शिक्षक तथा कर्मचारी ।

हेटौंडाः मकवानपुर जिल्लामा विद्यार्थीलाई पाठ्यपुस्तक वितरणको कार्य सुरु भएको छ । लकडाउनका बीच हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरुले पाठ्यपुस्तक व्यवस्थापनको कार्य सुरु गरेको हो । हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयले आज आइतबार अभिभावकलाई विद्यालयमा बोलाएर विद्यार्थीको पाठ्यपुस्तक वितरण सुरु गरेको प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभयो ।

लकडाउनका बेला पाठ्यपुस्तक पाए विद्यार्थीले घरमै बसेर पढ्न पाउने र नयाँ पाठ्यपुस्तकले बालबालिकालाई प्रोत्साहित गर्ने भएकोले पाठ्यपुस्तक वितरणको कार्य सुरु गरिएको प्रधानाध्यापक खनालले बताउनुभयो । उहाँका अनुसार पाठ्यपुस्तक वितरण गर्दा अभिभावकबीच भौतिक दुरी कायम गरिएको थियो । आज मात्रै करिब एक सय जना विद्यार्थीका लागि पाठ्यपुस्तक वितरण गरिएको छ । गत फागुन महिनामा भएको वार्षिक परीक्षामा १५५ जना विद्यार्थी सहभागी भएको जानकारी दिनुहुँदै आज र भोलि दुईदिन पाठ्यपुस्तक वितरणको कार्य गरिने उहाँले जानकारी दिनुभयो । पाठ्यपुस्तक वितरण सुरु गरे पनि सबै विषयका पाठ्यपुस्तक भने प्राप्त नभएको प्रधानाध्यापक खनालले बताउनुभएको छ ।

जिल्लाका अन्य विद्यालयले पनि पाठ्यपुस्तक विद्यालयसम्म पुर्‍याउने कार्य गरेका छन् । हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविले पनि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याएको प्रधानाध्यापक प्रवोध विडारीले जानकारी दिनुभएको छ । निर्मल माविले कक्षा १ देखि १० सम्मका सबै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसकेको बताउनुभएको छ ।

मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविले पनि आइतबारबाट पाठ्यपुस्तक वितरण गर्न सुरु गरेको छ । आइतबार १६७ जनालाई पाठ्यपुस्तक वितरण गरिएको प्रधानाध्यापक होम बहादुर नेपालीले जानकारी दिनुभएको छ । ग्रामीण भेगमा अनलाइन, भर्चुअल कक्षा सञ्चालनको सम्भावना नभए पनि पाठ्यपुस्तक वितरण गर्न पाए विद्यार्थीले पढ्न सक्ने देखेर पुस्तक वितरण गरिएको उहाँको भनाइ छ । विद्यालयले भौतिक दुरी कायम गरेर पुस्तक वितरण गरिएको प्रधानाध्यापक नेपालीले बताउनुभयो । मनहरी गाउँपालिकास्थित राष्ट्रिय रोटरी माविले पनि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसकेको जनाएको छ ।