दुग्ध संकलन केन्द्रमा किसानले ल्याएका दुधको किट्लीको लाइन । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्ला दुग्ध सहकारी संघले उपभोक्तालाई दुधमा सहुलियत दिएको छ । संघले प्रतिलिटर ५ रुपैयाँ सहुलियत दिन सुरु गरेको हो । जारी लकडाउनका कारण दुधको खपत कम भएकोले उपभोग बढाउने उद्देश्यले सहुलियत दिएको संघले जनाएको छ । संघले हेटौंडा–१, चौकीटोलस्थित विक्री केन्द्रबाट उपभोक्तालाई दुध विक्री गर्ने गरेको छ ।

प्रतिलिटर ७५ रुपैयाँमा दुध विक्री गर्दै आएको संघले अहिले प्रतिलिटर ७० रुपैयाँमा दुध विक्री गरिरहेको छ । संघले दैनिक ५ सयदेखि ६ सय लिटर दुध विक्री गर्ने गरेको छ । मकवानपुर जिल्लाबाट संघले दैनिक करिब ३५ हजार लिटर दुध संकलन गर्ने गरेकोमा लकडाउनयता दैनिक बढीमा २० हजार लिटर दुध संकलन गरिरहेको छ । संघले किसानलाई दिने मूल्य भने साविककै कायम गरेको छ ।