हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावित भएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का दलित र चेपाङ गरी ३० घर–परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । मनहरी खोलामा गिटी बालुवाको काम गर्ने र मनहरी बजारका होटेल तथा बजारमा दैनिक ज्यालादारीमा काम गर्ने दलित र चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष चन्द सिं प्रजाले जानकारी दिनुभयो ।

लामो समय लकडाउनका कारण घरमा बालबच्चालाई बिहान–बेलुकाको छाक टार्न कठिनाई भएको बेलामा राहत पाउँदा सहज भएको रचना प्रजा बताउनुभयो । लकडाउनको समयमा त्रसित नभई आफू र समुदायमा सुरक्षित रहन मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्रका अध्यक्ष कमल कुमार बिश्वकर्माले आग्रह गर्नुभयो । चेपाङ र दलित समुदायमा सामाजिक कुसंस्कारको रुपमा रहेको बालबिवाह र जाँडरक्सीको चलन त्यागी आफ्ना बालबालिकालाई शिक्षामा विशेष जोड दिन पनि उहाँले लाभग्राहीलाई आग्रह गर्नुभएको छ ।

वडाअध्यक्ष चन्द्र सिं प्रजाको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र नेपालका अध्यक्ष एवम् जातीय भेद विरुद्ध विश्व मञ्च प्रतिनिधी कमल कुमार विश्वकर्मा, वडा सदस्य कौशिला विश्वकर्मा, राक्सिराङ गाउँपालिका रोजगार संयोजक गोविन्द विश्वकर्मा, टोल विकास संस्थाका अध्यक्ष दिनेश वाईबा लगायतको आतिथ्यता रहेको थियो ।