हेटौँडाः मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको अध्यक्षमा डीबी बर्तौला निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १६ औं अधिवेशनबाट बर्तौला अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघि सचिवको जिम्मेवारी सम्हाल्नु भएका बर्तौला पुरुषोत्तम आचार्यलाई पराजित गर्दै संगमको अध्यक्षमा निर्वाचित हुनुभएको हो । आचार्यले ८१ मत मात्रै प्राप्त गर्नुभयो । शनिबार राती सम्पन्न मतगणनाअनुसार ९७ मतसहित बर्तौला निर्वाचित हुनुभएको हो । बर्तौलाको प्यानलबाट पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन् । कुल मतदाता २ सय ४४ मतदाता मध्ये कुल १ सय ८२ मत खसेको थियो । संगमको उपाध्यक्षमा सानु खनाल १ सय २१ मतसहित निर्वाचित हुनुहुँदा एसके निधन ५६ सहित पराजित हुनुभयो ।
सचिवमा मनोज पोखरेल १ सय १० मतले विजयी हुँदा यश लामा ६७ मतसहित पराजित हुनुभयो । सदस्यमा रजनी पौडेल (१२४ मत), स्वस्तिका बानियाँ (११८ मत), कृतिका लौडारी (९९ मत) र कुवेर पराजुली (८३ मत) निर्वाचित हुनुभएको छ । सदस्यका आकांक्षी सिएम रिमाल (७९ मत), मिनप्रसाद लामिछाने (७६ मत) र बैकुण्ठ लामिछाने (७५ मत) पराजित हुनुभयो । यसअघि कोषाध्यक्षमा मेनु तिमल्सिना र सहसचिवमा भवानी तिमल्सिना सर्वसम्मत निर्वाचित भइसक्नु भएको थियो । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।
अधिवेशन अघि साहित्य संगम मकवानपुरको ३३४ औं नियमित सन्ध्या भएको थियो । संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा संगमका पूर्व अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । नियमित सन्ध्यामा नवसर्जक ५ जनाले रचना वाचन गरे । रियाज कार्की, रोशनी चौलागाई, कृतिका लौंडारी लगायतले रचना वाचन गर्नुभएको थियो । संगमले अधिवेशनकै अवसरमा पत्रकार केशव समर्पण, सुदीप सिवाकोटी, नवोदय शिशु सदन, बालजागृति इंग्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल विनोद सुवेदी, प्याब्सन मकवानपुर र नेपाल हृदयरोग निवारण संस्थाका अध्यक्ष हरिवंश भेटवाललाई सम्मान गरेको थियो ।