हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा विपन्न, एकल महिला, द्वन्द्वपीडित र वनकरियाका लागि सञ्चालन गरेको पाडी वितरण कार्यक्रममा अनियमितता भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेले माग गरेको छ । बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वप र एमालेले संयुक्त ध्यानाकर्षण गराएको छ ।
पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिले पनि अनियमितता भएको पुष्टि हुने दावी गर्दै दोषीलाई कारवाही नभए संघर्षको कार्यक्रम गर्ने रास्वपा र नेकपा एमालेले जनाएको छ । रास्वपा मनहरी गाउँपालिका समितिका सभापति गोविन्द सापकोटा र नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नवीन सुवेदीले संयुक्त विज्ञप्ति जारी गर्दै बिहिबार बिहान हेटौँडामा पत्रकार सम्मेलन गरेको थियो ।
जनताले तिरेको करको दुरुपयोग भएको भन्दै अनियमितताको विषयमा पत्रकार सम्मेलन गर्दा व्यापारीलाई दायाँबायाँ राखिएकोप्रति पनि आपत्ति जनाएका छन् । अनियमितता भएको रकम फिर्ता गरेर मात्रै समस्या समाधान नहुने उल्लेख गर्नुहुँदै नेकपा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदीले अनियमितता गर्ने जोकसैलाई कानून बमोजिम कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।
गाउँपालिकाले असार अन्तिममा १०८ वटा पाडी वितरण गरेको थियो । रास्वपाले पाडी वितरणको विवरण माग गर्दा ८३ वटा पाडी खरिदको विवरण मात्रै पालिकाले उपलब्ध गराएको छ । ८३ वटा पाडी २३ हजार ५ सय रुपैयाँका दरले खरिद गरेको विवरण रास्वपालाई पालिकाले दिएको छ भने २५ वटा पाडी खरिद गरेको विवरण पालिकाले दिन सकेको छैन । ६० देखि ८० केजी तौल बराबरको पाडी खरिद गर्न सम्झौता गरिए पनि अधिकांश पाडी ६० केजी भन्दा कम तौलको रहेको रास्वपाको दावी छ ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले भने बुधबार हेटौँडामै पत्रकार सम्मेलन गरेर पाडी खरिदको विषयमा अध्ययन गर्न समिति गठन गर्ने बताउनुभएको छ । गाउँपालिका अध्यक्ष कालाखेतीले सम्झौताअनुसारको पाडी उपलब्ध नगराएको भए पैसा फिर्ता गराउन सहमत गराएको पनि जानकारी दिनुभएको छ ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2023/09/manahari1-746x1024.jpg)