हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले नगर प्रहरी राख्ने भएको छ । सोमबार भएको पालिकाको वार्षिक समीक्षामा नगर प्रहरी राख्ने निर्णय भएको पालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

पालिकाले ७ जना नगर प्रहरी राख्न लागेको उहाँले बताउनुभयो । पालिकाले अहिले ९ करोड जति आन्तरिक राजस्व उठाउन सफल भएको र नगर प्रहरी राखेपछि बढ्ने अपेक्षा गरेको उहाँको भनाइ छ । विपद्मा सहयोग, आन्तरिक राजस्व बढाउन र सुरक्षाका लागि नगर प्रहरी राख्न लागिएको उहाँले बताउनुभयो ।

सोमबार भएको वार्षिक समीक्षामा आर्थिक वर्ष २०७९/०८० मा विनियोजित बजेटको खर्चबारे सबै शाखाहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष पालिकाको सामाजिक विकास शाखाले विनियोजित बजेटको ८० प्रतिशत, शिक्षा शाखाले विनियोजन बजेटमध्ये ७९ प्रतिशत, स्वास्थ्य शाखाले ७८ प्रतिशत र युवा तथा खेलकुदले ६८ प्रतिशत बजेट खर्च गरेको उहाँले बताउनुभयो ।

वार्षिक समीक्षामा वडाहरुलाई बजेट पुस्तिका हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । पुस्तिकामा वडाले एक वर्षभित्र गर्ने कार्यक्रम र बजेटसहित समावेश गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा कसरी अगाडि बढ्न सकिन्छ, कस्तो कार्ययोजना बनाएर जाने, उपभोक्ता समितिहरु कहिलेसम्म गठन गर्ने, कसरी अनुगमन गर्ने र आवश्यक प्रक्रिया के हुन सक्छ भनेर छलफल भएको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्षका लागि ६० करोड रुपैयाँ बजेट पारित गरेको छ ।