होल्डिङ सेन्टर सञ्चालन गरिने वनविज्ञान क्याम्पसको भवन ।

हेटौंडाः कोरोना भाइरसको संक्रमण विस्तार हुँदै जाँदा कोरोना संक्रमणका आशंका भएका व्यक्तिलाई राख्न हेटौंडामा आइसोलेसन कक्ष निर्माण हुने भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको शैक्षिक भवनमा आइसोलसन कक्ष निर्माण गरिन लागेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईले बताउनुभयो ।

यसअघि हेटौंडा–४, कर्रामा ३० सैय्याको आइसोलेसन कक्ष सञ्चालनमा रहेको छ । आइसोलेसन कक्षका संयोजक समेत रहनुभएका चौलगाईले अब वनविज्ञान अध्ययन संस्थाको शैक्षिक भवनमा पनि ३० सैय्याकै आइसोलस कक्ष निर्माण हुने बताउनुभयो । अहिले हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन भने क्वारेन्टाइनको रुपमा विस्तार हुन सक्ने चौलागाईले बताउनुभयो । हेटौंडा–४, को आइसोलेसनमा कोरोना संक्रमित पनि राखिएको छ भने अन्यलाई पनि सोही भवनमा राखिएको छ ।

हेटौंडा उपमहानगरले क्वारेन्टाइन सुरु गर्दै

हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिरको सभाहलमा हेटौंडा उपमहानगरले क्वारेन्टाइन निर्माण गरको छ । हेटौंडा उपमहानगरले २५ सैय्याको क्वारेन्टाइन निर्माण गरेको हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ । विदेशबाट आएकाहरु अब उक्त क्वारेन्टाइनमा बस्न सक्ने जनाइएको छ ।

२५ सैय्याको क्वारेन्टाइनमा अस्पतालले रेफर गरेका तथा कोरोनाका शंकास्पद व्यक्ति रहने क्वारेन्टाइनका इन्चार्ज टिएन ढुंगेलले बताउनुभयो । क्वारेन्टाइनमा कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका व्यक्तिहरु पनि बस्ने जनाइएको छ । क्वारेन्टाइनको भोलि आइतबार बिहान उद्घाटन गरिने बुझिएको छ ।