मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये कोही काठमाडौ त कोही भरतपुरमा उपचार गराइरहेका छन् । सकेसम्म रोग लाग्नबाट बच्नु नै पर्दछ । तर कुनै कारण संक्रमित भए त्यसलाई लुकाउनु समाजका लागि घात हो । रोग लाग्नु कुनै अपराध होइन । त्यसैले प्राकृतिक कुरालाई भयावह बनाउने प्रवृत्ति विरुद्ध उभिन सक्नु पर्दछ । तर संक्रमण पत्ता लागेपछि स्वयम्मा हिनतावोध गर्ने र ठेगाना लुकाउनेदेखि सहि विवरण नदिने गरेका घटनाहरु पनि छन् । यस्तो व्यवहारले समाजमा यो संक्रमण थप फैलने खतरा छ । त्यसैले मानिसहरुको शारीरिक तथा भौतिक दुरी कायम राख्नका लागि सवैभन्दा उत्तम विधि बन्दाबन्दी नै हो । तर यसको प्रभावकारितामा प्रश्न उठ्न थालेका छन् ।

दुई महिनादेखि देश पुरै लकडाउनमा छ । तर यसको प्रभावकारिता माथि प्रश्न उठेका छन् । दिनहुँ बजार खुलेका मात्र छैनन कि उपभोक्ताको भिड नै लाग्दै आएको छ । नागरिक स्वयम् यसमा जिम्मेवार हुन आवश्यक छ । आफुलाई नपरेसम्म ख्याल ख्याल ठान्ने र संक्रमण नै भएपछि सर्वस्व नै सकिए जस्तो गर्नु भन्दा पहिला नै सचेतता अपनाउनु बुद्धिमानी हो । नेपालमा लकडाउन सुरु हुँदा दुईजना संक्रमित थिए । दुई महिनाका बीचमा एक हजार ४ सय बढीमा कोराना देखिएको छ भने ६ जनाको मृत्यु नै भइसकेको छ । यसले लकडाउन मात्रै समस्याको समाधान हो भन्ने सोचाईमा अब परिवर्तन गर्नुपर्ने देखिएको छ । जति लकडाउन बढाइएको छ त्यत्तिनै संक्रमण बढ्दै गएको छ ।

सबै नागरिकलाई बन्दाबन्दीमा राखेपछि सरकारले गर्नुपर्ने धेरै काम थिए । हवाई सेवा बन्द हुँदा विदेशबाट आउनेहरु रोकिएका छन् । तर सडकमार्ग हुदै भारतबाट नेपाल भित्रने नागरिकहरुलाई उचित व्यवस्थापन गर्न नसक्दा संक्रमणको चाप बढ्दै गएको हो । भारतसँगका नाकाहरु सिल गरिए पनि खुल्ला सिमानामा लुकीछिपी नेपाल भित्रिएकाहरुबाट जोखिम बढ्दै गएको छ । निश्चित नाकाहरु खुल्ला गरिदिएर त्यहाँबाट आउनेहरुको परिक्षण गर्नेदेखि अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्थापन गर्नुपर्ने थियो । त्यसको पर्याप्त तयारी हुन सकेन । यस्तै आवश्यक उपकरणको अभावमा पकट–पटक परिक्षण अवरुद्ध भए, जसले संक्रमण बृद्धिमा सहयोग पुग्यो । आखिर लकडाउनले न संक्रमण नियन्त्रण भयो न पर्याप्त तयारी नै भयो ।

ज्यान भन्दा आर्थिक कारोबार ठूलो होईन तर रोगले भन्दा भोकले मर्ने अवस्था पनि आउन दिनु हुँदैन । त्यसका लागि आर्थिक गतिविधिमा संलग्न हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ । लकडाउन हुँदा पनि मानिसहरु सडक बजार निस्कने वा अन्य गतिविधिमा संलग्न भएकै छन् । यही अवस्थालाई विश्लेषण गर्दा पनि हालको बन्दाबन्दीलाई केही परिमार्जन गर्नु आवश्यक हुन्छ । सरकारले फेरि लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । लकडाउन बढाउने तर यसको ढाँचामा कुनै परिवर्तन नगर्ने स्थिति देखिएको छ । यसले कोरोना भाइरस संक्रमणको जोखिम त कम गर्ला तर, मुलुकको समग्र जनजीवनमा पार्ने प्रभाव भने भयानक बन्नेछ । बन्दाबन्दीलाई परिमार्जन गर्दै आम नागरिकलाई सहज दैनिकीमा फर्काउने प्रयास सरकारबाट हुन सकेन ।