हेटौँडाः मकवानपुर प्रहरीले विभिन्न प्रकारका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६, कदारका २८ वर्षीय अमृत गोतामे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रकाश साहले जानकारी दिनुुभयो ।
सोमबार बिहान ९ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी बसपार्कबाट गस्तीमा खटिएको प्रहरी टोलीले हेटौँडा–१० स्थित बसपार्क क्षेत्रमा शंकास्पदरुपमा उभिइरहेका गोतामेलाई सुरक्षाजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ । गोतामेले बोकेको झोलाबाट लुकाएर राखेको अवस्थामा लागूऔषध फेनारगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल, डाइजेपाम ५८ एम्पुल र लागूऔषध नाईट्राजेपाम ७५ ट्याब्लेट, ट्रामोल ६ सय ८० क्याप्सुल र सम्मेक्स २४ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको लागूऔषधसहित गोतामेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।