महासभामा सहभागीलाई पुरस्कृत गरिँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित नवोदय शिशु सदन इंग्लिस सेकेण्डरी स्कूलको आयोजना तथा माध्यमिक तहका विद्यार्थीको सक्रियता र सहभागितामा आयोजना गरिएको नमूना संयुक्त राष्ट्रसंघीय महासभा सकिएको छ । बिहिबार सुरु भएको महासभा शनिबार सकिएको हो । नमूना महासभामा १० कक्षामा अध्ययनरत रायन खनालले महासचिवको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसअघि दुईपटक भर्चुअल माध्यमबाट र गत वर्ष भौतिक उपस्थितिमै नमूना राष्ट्रसंघीय महासभाको आयोजना गरिएको थियो । यस वर्ष भने राष्ट्रसंघीय महासभासँगै नमूना संघीय संसदको पनि अभ्यास गरिएको थियो । राष्ट्रसंघ मातहतका विभिन्न ७ समितिको समेत बैठक आयोजना गरिएको थियो । शनिबार समापन समारोहमा विषयगत समितिका अध्यक्षहरुले आआफ्नो समितिमा भएका क्रियाकलापको प्रस्तुती राख्नुका साथै उत्कृष्ट सहभागीलाई सम्मान गरेका थिए ।

नमूना महासभामा नवोदय शिशु सदनका साथै हेटौँडा–८ स्थित कमाने एकेडेमी र हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदनका विद्यार्थीको पनि सहभागिता रहेको थियो । यस्तै चितवन, नवलपरासी र रुपन्देही जिल्लाका विद्यार्थी र शिक्षकको पनि सहभागिता रहेको थियो । विद्यार्थीलाई विश्वव्यापी अवधारणा सिकाउन नमूना राष्ट्रसंघीय महासभाको आयोजना गरिएको उल्लेख गर्नुहुँदै नवोदय शिशु सदनका शिक्षक अव्यक्त खनालले आगामी दिनमा नमूना राष्ट्रसंघीय महासभालाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । शनिबारको समापन कार्यक्रम वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको थियो ।