खेलाडीहरुको तस्वीर ।

हेटौंडाः एन्फाको मकवानपुर जिल्लाका फुटबल कोच विजयलाल श्रेष्ठले निःशुल्क फुटबल प्रशिक्षण सुरु गर्नुभएको छ । सोमबारदेखि हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पसको चौरमा प्रशिक्षण दिन सुरु गर्नुभएको हो ।

नेपालभरिका फुटबल खेल्न इच्छुक खेलाडीहरु प्रशिक्षणमा सहभागी जनाउन पाउने श्रेष्ठले बताउनुभयो । मकवानपुर जिल्लाका खेलाडीहरुलाई विभिन्न प्रतियोगितामा सहभागी गराउन, बाहिरी क्लबबाट खेल्न जाने खेलाडीहरुको तयारी गर्न, मकवानपुर जिल्लाका खेलाडीहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउन, जिल्लाबाट यु–१९ का लागि नयाँ युवा खेलाडीहरु निर्माण गर्नका लागि प्रशिक्षण सुरु गरेको उहाँले बताउनुभयो ।

विशेषगरी यु–१९ मा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउने तथा हौसला दिने उद्देश्यले प्रशिक्षण गर्न थालेको उहाँको भनाइ छ । हप्ताको सातै दिन ४ बजेदेखि ६ बजेसम्म रनिङ, गोलरक्षक, आक्रमण, डिफेन्डीङलगाएतका तालिम दिने श्रेष्ठले बताउनुभयो । यसअघि यु–१९ का प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका ४१ जना खेलाडीहरुलाई श्रेष्ठले ३ दिन प्रशिक्षण दिनुभएको थियो ।