Home कला गुरुङ र चालिसेलाई मातृभूमिले सम्मान गर्ने

गुरुङ र चालिसेलाई मातृभूमिले सम्मान गर्ने

हेटौँडाः मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा प्रदान गर्ने “मातृभूमि राष्ट्रिय सम्मान २०८०” यस वर्ष वरिष्ठ संस्कृतिविद् प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. जगमान गुरुङलाई प्रदान गर्ने भएको छ । नेपाली संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत गुरुङलाई नगद २५ हजार १ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको मातृभूमि साहित्य समाजले जनाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङ नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुनुहुन्छ । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका प्रा.डा. गुरुङको शोधपत्र लेखन एवम् अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ । यसैगरी संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना गरेको नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान–२०७९” लघुकथालयका सर्जक वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेलाई समर्पण गर्ने निर्णय गरेको छ । डा. चालिसेले लामो समयदेखि लघुकथाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आउनु भएको छ । प्राध्यापनबाट सेवा निवृत्त जीवन बिताइरहनु भएको डा. चालिसेका नेपाली भाषामा प्रकाशित विभिन्न लघुकथा सङ्ग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।

आगामी असोज ६ गते मातृभूमि साहित्य समाजको २५औँ वार्षिकोत्सवको अवसरमा हेटौँडामा भव्य कार्यक्रम आयोजना गरेर दुवै पुरस्कार समर्पण गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलले जानकारी दिनुभएको छ । मातृभूमिको वार्षिकोत्सवकै अवसरमा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य “महाकाश” को विमोचन पनि गरिने बताइएको छ ।

Exit mobile version