मकवानपुर जिल्लाको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकामा बिहिबार जनप्रतिनिधि र कर्मचारी गणतन्त्र दिवसको अवसरमा दीपावली गर्दै ।

हेटौंडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुरको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिकाको कार्यालय परिसरमा दीपावली गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि एवम् कर्मचारीको सहभागितामा बिहिबार साँझ दीपावली गरिएको हो । स्थानीय प्रशासनले गणतन्त्र दिवसको अवसरमा जेठ १४, १५ र १६ गते दीपावली गर्न सर्वसाधारणलाई आव्हान गरे पनि आम रुपमा दीपावली भने गरिएन ।

स्थानीय प्रशासनले हरेक वर्ष दीपावली गर्न आव्हान गरे पनि राष्ट्रसेवक कर्मचारीले समेत आफ्नो घरमा दीपावली गर्ने गरेका छैनन् भने आम नागरिकले पनि स्थानीय प्रशासनको आव्हानलाई वास्ता गर्ने गरेको छैन । राजनीतिक परिवर्तनका दृष्टिले महत्वपूर्ण मानिए पनि आम नागरिकले आफ्नो जनजीवनमा परिवर्तन महसुस गर्न नपाएको भन्दै स्थानीय प्रशासनको आव्हानलाई बेवास्ता गर्दै आएको छ ।