
हेटौँडाः बागमती प्रदेश सरकारले श्रम तथा रोजगार नीति–२०८० सार्वजनिक गरेको छ । साढे २ वर्षको प्रयासपछि प्रदेश सरकारले श्रम नीति ल्याएको हो । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश श्रम तथा रोजगार नीति–२०८० सार्वजनिक गर्नुभयो ।
प्रतिस्पर्धी जनशक्ति विकास तथा उत्पादनमूलक क्रियाकलापका लागि अनुकुल वातावरणको सिर्जना गरी सबैलाई गुणस्तरीय रोजगारी एवम् स्वरोजगारीका अवसर प्रदान गर्ने लक्ष्य सार्वजनिक गरिएको नीतिमा छ । श्रमिकको अधिकारको रक्ष तथा श्रम प्रशासनको सुदृढीकरण गर्ने, श्रम बजारको विकास एवम् रोजगारमूलक क्षेत्रमा लगानी प्रोत्साहित गर्ने र वैदेशिक रोजगारलाई सुव्यवस्थित गर्न सहकार्य अभिवृद्धि गर्ने उद्देश्य नीतिमा उल्लेख गरिएको छ ।
नीति सार्वजनिक गरेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफू मजदुर वर्गकै राजनीति गरेर आएको पृष्ठभूमि उल्लेख गर्नुहुँदै प्रदेश सरकारले समुदायमा आधारित अनुदान, गृहिणी महिलालाई रोजगारीको अवसर, सीप सिकेका दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्दै गर्दा सरकारले पनि उनीहरुलाई लगानी गर्नुपर्ने बताउनुभयो । श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने गरी प्रदेशको नीतिले काम गर्ने दावी गर्नुभयो । मन्त्रालयका सचिव तीर्थप्रसाद भट्टराईले नीतिका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष रामहरि नेपालले प्रदेश सरकारले नीति निर्माण गर्नु सकारात्मक भए पनि कार्यान्वयनमा चुनौति रहेको औँल्याउनुभयो । उहाँले २ वटा श्रम कार्यालय राखेर प्रदेशभर श्रम क्षेत्रको नियमन, अनुगमन सम्भव नभएको बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईले नीतिमा श्रम क्षेत्रलाई प्राथमिकता दिएको, रोजगारीको क्षेत्रमा ध्यान नपुगेको बताउनुभयो । रोजगारदाताको पक्षमा पनि नीतिले ध्यान पुर्याउन नसकेको उहाँको दावी छ । प्रदेश श्रम तथा रोजगार नीति निर्माणमा सुरक्षित आप्रवासनसम्बन्धी सामी परियोजनाले सहयोग गरेको छ ।