हेटौँडाः अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६ को बागमती प्रदेशमा कार्यान्वयन अनुगमन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार राष्ट्रिय अपाङ्ग महासंघको बागमती प्रदेश कार्यालयको आयोजनामा एक कार्यक्रममार्फत् प्रतिवेदन सार्वजनिक भएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अस्मिन लम्सालको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको सामान्य प्रशासन तथा उद्योगमन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा सोमबार कार्यक्रम भएको हो । मन्त्री चित्रकारले संघीयतामा गए पनि कानुन निर्माण र कार्यान्वयन गर्न नसकिएको बताउनुभयो ।
कानुनी समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६ को बागमती प्रदेशमा कार्यान्वयन अनुगमन प्रतिवेदनबारे अपाङ्गता विज्ञ सहजकर्ता मनिष प्रसाईले सहजीकरण गर्नुभयो । उहाँले सामाजिक विकास मन्त्रालयमा साँकेतिक भाषा दोभासेलगायतको व्यवस्था रहेको बताउनुभयो ।