पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रदेश सभा सदस्य भारती पाठक ।

हेटौँडाः बागमती प्रदेश सभा बैठक बोलाउन नेकपा एमालेले ध्यानाकर्षण गराउने भएको छ । नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भारती पाठकले शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउन प्रदेश सभा बैठक सुचारु गर्न आवश्यक रहेकोले एमालेले प्रदेश सभा बैठक सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउने जानकारी दिनुभयो ।

बागमती प्रदेश सभामा नेकपा एमालेको संसदीय दलले आइतबार प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने उहाँले जानकारी दिनुभयो । प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहँदा प्रदेश सरकारले जिम्मेवार भएर काम गर्नुपर्ने पाठकले बताउनुभयो । प्रदेश सभा सदस्यलाई आआफ्नो क्षेत्रमा क्रियाशील रहन, विपद् जोखिमबाट बच्न, बचाउन आआफ्नो क्षेत्रमा खटिन प्रदेश सभा र सरकारले निर्देशन समेत दिएर खटाउनुपर्नेमा पनि प्रदेश सभा सदस्य पाठकले आवश्यकता औँल्याउनुभएको छ ।

प्रदेशका जनताको मुद्दालाई प्रदेश सदस्यले सभामा प्रस्तुत गर्दै सरकारमार्फत आवश्यक काम गर्न, गराउन जरुरी रहेको उहाँको भनाइ थियो । प्रदेश सभामा सरकारको ध्यानाकर्षण गराएकै कारण केही महिनाअघि बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत प्रदान गर्न सफmल भएको स्मरण गर्नुहुँदै पाठकले भन्नुभयो, “अहिले प्रदेशका विभिन्न स्थानमा बाढी, पहिरोका घटना भएका छन् । मकवानपुरमै एउटै परिवारका ७ जना पहिरोमा परे । काठमाडौं डुवानमा परेको अवस्था छ । यी सबै विषय प्रदेश सभामा छलफल गर्न आवश्यक छ । त्यसैले हामी सरकारको ध्यानाकर्षण गराउन गइरहेका छौं ।”

यसैबीच प्रदेश सभा सदस्य पाठकले मकवानपुरको बागमती गाउँपालिकामा पहिरोमा परी घाइते भई उपचाररत १७ वर्षीय पासाङ घिसिङलाई भेट्नु भएको छ । घाइतेको स्वास्थ्य अवस्था बुझ्नुका साथै प्रभावकारी उपचार गर्न पाठकले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ ।