हेटौँडाः डेङ्गु संक्रमित हेटौँडाका एक युवकको मृत्यु भएको छ । हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेङ्गु संक्रमणका कारण मृत्यु भएको हो ।
३ दिन अघि हेटौँडास्थित सन्चो अस्पतालमा परीक्षण गराउँदा डेङ्गु संक्रमण पुष्टि भएको थियो । सञ्चो अस्पतालका डा. विकास थापाका अनुसार डेङ्गु संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएको डा. थापाले बताउनुभयो । बुधबार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहिबार उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेङ्गु संक्रमण पुष्टि भएको थियो । डा. थापाका अनुसार दोस्रो पटक संक्रमित हुँदा स्वास्थ्यमा जटिलता सिर्जना हुने गर्दछ ।