हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले बुधबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको कार्यालय रहेको भवन खाली गराउने निर्णय गरेको छ । साविक अगुवा स्रोत केन्द्र रहेको भवन शिक्षा विकास तथा समन्वय इकाईको आफ्नै कार्यालयको रुपमा रहेको उल्लेख गर्नुहुँदै समन्वय इकाई प्रमुख दीनानाथ गौतमले आफ्नै भवन उपमहानगरले निर्णय गर्दैमा कसरी खाली गराउने भन्दै प्रश्न गर्नुहुन्छ ।
“साविक जिल्ला शिक्षा कार्यालयले अगुवा स्रोत केन्द्रका लागि निर्माण गरेको संरचनामा संघीय शासन व्यवस्था लागुभएपछि शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय अगुवा स्रोत केन्द्रमा स्थापित गरिएको हो”, समृद्ध समाजसँग कुरा गर्नुहुँदै इकाई प्रमुख गौतमले भन्नुभयो, “साविकको जिल्ला शिक्षा कार्यालय प्रदेशको आन्तरिक ममिला तथा कानुन मन्त्रालयले उपयोग गरिरहेको छ । अहिले उपमहानगरले के आधारमा खाली गराउने भनेको हो । हामी त हाम्रै संरचनामा बसिरहेका छौं ।”
औपचारिकरुपमा कुनै किसिमको समन्वय, छलफल नै नगरी भवन खाली गराउने निर्णय गरेको प्रति इकाई प्रमुख गौतमले आश्चर्य प्रकट गर्नुभएको छ । भवन खाली गराउने भनी निर्णय भएको भन्ने सञ्चार माध्यममार्फत नै जानकारी प्राप्त भएको उल्लेख गर्नुहुँदै इकाई प्रमुख गौतमले भन्नुभयो, “यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्छु ।”
लामो समय शिक्षा कार्यालयमा रहेर काम गर्नुभएका बद्रिबहादुर पाठकले शिक्षा विकास तथा समन्वय इकाईको भवन खाली गराउने निर्णय उपमहानगरले गर्न नसक्ने बताउनुहुन्छ । हिजो शिक्षा कार्यालय हुँदा शिक्षा कार्यालयले आफ्नै प्रशासनिक कार्यका लागि बनाएको भवनमा रहेको कार्यालय उपमहानगरले हटाउने निर्णय गर्न नसक्ने पाठकको भनाइ छ ।