हेटौंडाः अविरल वर्षासँगै आएको पहिरोको कारण गएरातिदेखि बन्द भएको काठमाडौंं जोड्ने छोटो दुरीको मार्ग हेटौंडा–भैँसे–भीमफेदी–कुलेखानी सडकखण्डमा खुलेको छ । पहिरो हटाउने काम सकेपछि मंगलबार दिउँसोबाट उक्त सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
गएराति ११ बजेर ३० मिनेटको समयमा भीमफेदी–२, ज्यालटारस्थित उक्त सडकखण्डमा पहिरो खसेको थियो । यस्तै काठमाडौं जोड्ने अर्को छोटो दुरीको कान्तिराज पथ भने अझै खुलेको छैन । यस्तै त्रिभुवन पथ भने सञ्चालनमा रहेको जनाएको छ । महेन्द्र राजमार्ग पनि मकवानपुरभर सञ्चालन भइरहेको जनाएको छ ।