नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालय । फाईल तस्विर ।

हेटौंडाः नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको पूर्ण कमिटीको बैठक आज आइतबार बस्दैछ । पार्टीको आन्तरिक विशेष अभियान २०८० अन्तर्गतको बैठक बस्न लागेको पार्टी जिल्ला सचिव भीमसेन महतले बताउनुभयो ।

पार्टीको सांगठनिक सुदृढीकरण अभियानका लागि मकवानपुरमा खटेर आउनुभएका पार्टीकी केन्द्रीय प्रतिनिधि सदस्य लक्ष्मी खतिवडाको उपस्थितिमा बैठक बस्नेछ । अभियान ३० गतेसम्म सञ्चालन हुने सचिव महतले बताउनुभयो ।

अभियानमा जिल्ला तहमा भएको संगठनकै अवस्थाअनुरुप नै वडा तहसम्म पूर्णता हुन बाँकी वडा कमिटीहरुलाई पूर्णता दिने, विभाग, भातृ संगठनहरुलाई पूर्णता दिने सचिव महतले बताउनुभयो । यहि साउन २३ र २४ गते प्रतिनिधिको बैठक बस्ने र बैठकमा वडा तहका सभापतिहरुको उपस्थिति रहने उहाँले बताउनुभयो । यस्तै, २७ र २८ गते जिल्लाभरिका वडाहरुमा एकैपटक भेला हुने र भेलाबाट तयार पारिएको संयुक्त रिपोर्ट लिएर ३० गते सम्पन्न हुने उहाँले बताउनुभयो ।

सचिव महतले जिल्लामा अहिले २४ वटा भातृ शुभेच्छुक पेसागत संगठन रहेको बताउनुभयो । अहिले आन्तरिक विशेष अभियान सञ्चालन हुन लागेको र दोस्रो पटक खुल्ला अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।