अनसन बस्दै गरेका तामाङ बाबुछोरा (दायाँ) । खाली अनसनस्थल (बायाँ) ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामालाई सडक विस्तारको कार्य रोकिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका बाबुछोरा मंगलबार अनसनस्थलबाट हराएका छन् । साउन १६ गतेदेखि सडक विस्तारको कार्य सुरु नभए आमरण अनसन बस्ने र कुनै पनि बेला सामूहिक आत्मदाह गर्ने चेतावनीसहितको ज्ञापनपत्र सोमबार नगर प्रमुख मीना कुमारी लामालाई बुझाएका हेटौँडा–८, कमानेका ७३ वर्षीय मानबहादुर तामाङ र ३४ वर्षीय राजीव तामाङ अनसनस्थलबाट हराएका हुन् ।

तामाङ बाबुछोरा आज साउन १६ गते मंगलबार डिभिजन सडक कार्यालय अगाडि अनसनस्थलमा छैनन् । तामाङ बाबुछोरा सडक विस्तारको माग राख्दै साउन १ गतेदेखि डिभिजन सडक कार्यालय हेटौँडा अगाडि अनसन बसेका थिए । अनसन बसेको १५ औं दिनमा सोमबार हेटौँडा उपमहानगर प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउँदै सडक विस्तार नभए सामूहिक आत्मदाह गर्ने ज्ञापनपत्र बुझाएका थिए । यता आत्मदाह गर्ने चेतावनीसहितको ज्ञापनपत्र बुझेको भन्दै नगर प्रमुख मीना कुमारी लामाको तीव्र आलोचना भइरहेको छ ।

डिभिजन सडक कार्यालयले असार १० गते सूचना प्रकाशित गरी पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेदेखि हेटौँडा–१०, राप्तीपुलसम्म सडकको दायाँ–बायाँ २५–२५ गज क्षेत्रमा सडक विस्तार गर्नुपर्ने भएकोले घर–टहरा हटाउन ३५ दिने सूचना जारी गरेको थियो । डिभिजन सडक कार्यालयका अधिकारीकाअनुसार उच्च र सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको छलफलमा मंगलबार अदालतबाट हुने आदेशअनुसार सडक विस्तारको कार्य अगाडि बढ्ने बताउँछन् ।