प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएपछि मंगलबार पत्रकारसँग कुराकानी गर्नुहुँदै प्रहरी उपरीक्षक सीताराम रिजाल (बीचमा) ।

हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले मकवानपुरमा शान्ति, सुरक्षा कायम गर्ने आफ्नो दायित्व भएको बताउनुभएको छ । आइतबार जिल्लामा हाजिर हुनुभएका एसपी रिजालले मंगलबार पत्रकारसँग कुरा गर्नुहुँदै सरोकारवाला निकाय र विभिन्न संघ, संस्थाहरुको समन्वयमा कानुनको पालना गर्दै आफुले जिल्लाभित्र हुने अपराध न्युनीकरण गरी अपराधमुक्त बनाउने बताउनुभयो ।

पछिल्लो पटक लागुऔषध अफिम र गाँजा खेती बढ्न थालेको र ओसारपसार बढेको विषयमा सञ्चारकर्मीले प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका छन् । प्रहरी प्रमुख रिजालले अफिम र गाँजा खेतीलाई नष्ट गरिने बताउनुभयो । उहाँले लागुऔषध ओसारपसार तथा उत्पादनलाई नियन्त्रण गर्न आफ्नो टिम लाग्ने बताउनुभयो । उहाँले अफिम गाँजा खेतीलाई विकल्प दिने गरी सुझाउने बताउनुभयो ।

प्रहरी प्रमुख रिजालले मकवानपुरमा पछिल्लो पटक आत्महत्याका घटना बढेको बताउनुहुँदै सरोकार निकायसँग समन्वय गरेर यसलाई न्यूनीकरण गर्न लागीपर्ने बताउनुभयो । यस्तै जिल्लाभित्र हुने ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै कडाई गरिने उहाँले बताउनुभयो । आफुले जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्दा पत्रकारलाई चाहिने आवश्यक सुचनाको बारेमा आफु जानकार रहेकाले पत्रकारलाई चाहिने सुचना उपलब्ध गराउने उहाँले बताउनुभयो ।