हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सोमबार हेटौँडाका विभिन्न स्थानबाट चार जनालाई लागुऔषधसहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
हेटौँडा–१४, नयाँबस्तीस्थित गैरीटोलबाट लागुऔषध ओनरेक्ससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–११, थानाभ¥याङका मोटरसाइकल चालक २४ वर्षीय अरबिन बर्णवाल र हेटौँडा–१, चाईनाक्वाटरका ३५ वर्षीय बिनोद प्रजा रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ५ बजेर १५ मिनेटको समयमा वीरगञ्जबाट मयुरधाप आउँदै गरेको ना ३७ प १२४७ नम्बरको मोटरसाइकललाई प्रहरीले सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ओनरेक्स ११ बोतल फेला पारेको थियो ।
यस्तै, हेटौँडा–१०, बसपार्कबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१ का १८ वर्षीय सुनिल साह र वीरगञ्ज महानगरपालिका–२ छपकैयाका २० वर्षीय मोहमद ईमरान मन्सुर रहेका छन् । सोमबार वीरगञ्जबाट नारायणगढ जाँदै गरेको ना ६ ख ८९३७ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार साह र मन्सुरको साथबाट प्रहरीले लागुऔषध फेला पारेको हो । उनीहरुको साथबाट लागुऔषध डाईजेपाम १ सय ९९, फिनारगन १ सय ९५ र नुरफिन १ सय ९० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।