हेटौँडाः उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दर्ताको संख्या घट्दो क्रममा रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा अदालतमा नयाँ मुद्दा एक हजार एक ९६ वटा दर्ता भएको उच्च अदालत पाटन, हेटौँडा इजलासका सूचना अधिकारी सरोज उपे्रतीले जानकारी दिनुभयो ।

अघिल्लो वर्षबाट सरी आएको ५ सय ४५ र नयाँ दर्ता गरी जम्मा एक हजार ७ सय ४१ वटा मुद्दा रहेकोमा एक हजार ३ सय १२ वटा फैसला भएकोे छ । ४ सय २९ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ । फैसला हुन बाँकी रहेको मुद्दामध्ये १८ महिना कटेका मुद्दा एउटा, १२ महिना कटेको मुद्दा ३० वटा छन् । ३ सय ९८ वटा मुद्दा एक वर्षभन्दा कम अवधिका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ३७ नयाँ मुद्दा दर्ता भएकोमा ८ सय २६ मुद्दा फैसला भएको थियो । यस्तै, २०७८/०७९ मा १ हजार २ सय १० मुद्दा दर्ता भएको थियो । औसतमा हेर्दा मुद्दा दर्ताको संख्या कम हुँदै गएको सूचना अधिकारी उप्रतीको भनाइ छ । अघिल्लो वर्षबाट दायित्व सरेर आएको एक सय १० वटा मुद्दा ६ महिना कटेको रहेको र मुद्दाको अंग मिलाउन नै ६ महिना लाग्ने उहाँको भनाइ छ । जिल्ला अदालतमा फैसला भएका मुद्दा चित्त नबुझेमा उच्च अदालतमा मुद्दा दर्ता हुने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय स्थानीय तह र जिल्ला अदालतकोे फैसलाले नै उच्चमा आउने मुद्दाको संख्या कम भइरहेको उहाँले बताउनुभयो ।

उच्च अदालतमा सरकारवादी, लागूऔषध, जबरजस्ती करणी, देवानी, जग्गा किचलो र ज्यानसम्बन्धी मुद्दा धेरै आउने गरेका छन् । उच्च अदालत पाटन, हेटौँडा इजलासमा ७ जना न्यायाधीशको दरबन्दी भए तापनि १ वर्षदेखि ४ जनामात्र कार्यरत छन् । अदालतमा रिक्त पद धेरै रहेको र जम्मा कर्मचारी ५१ जना रहेको उहाँले जानकारी दिनुभयो ।