स्वयंसेवी शिक्षकको रुपमा परिचालन हुनुअघि अभिमुखीकरण तथा अन्तरक्रियामा सहभागी विद्यार्थी ।

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्वयंसेवी शिक्षक परिचालन गर्ने भएको छ । शिक्षाशास्त्र संकायमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई ३ महिनाका लागि जिल्लामा रहेका सरकारी तथा निजी विद्यालयमा स्वयंसेवी शिक्षकको रुपमा परिचालन गर्न लागिएको मकवानपुर बहुमुखी क्याम्पसले जनाएको छ । स्वयंसेवी शिक्षकको रुपमा विद्यालय जाने विद्यार्थीलाई क्याम्पसले सरोकारवाला निकायका प्रतिनिधिमार्फत अभिमुखीकरण तथा अन्तरक्रिया समेत गराएको छ ।

सामुदायिक विद्यालय प्रधानाध्यापकहरु विद्यार्थीलाई अभिमुखीकरण गराउँदै अन्तरक्रियामा सहभागी हुनुहुँदै ।

विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीका लागि अध्ययनसँगै अभ्यास, सिकाइ र बुझाइको अवसर रहने भएकोले स्वयंसेवी शिक्षक परिचालन गर्ने अवधारणा ल्याएको मकवानपुर बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायका प्रमुख सहप्राध्यापक डा. लोकराज शर्माले जानकारी दिनुभएको छ । स्नातक तह प्रथम वर्षमा अध्ययनरत केही विद्यार्थी शिक्षण पेशामा आवद्ध समेत भइसकेको जानकारी गराउनुहुँदै सहप्राध्यापक डा. शर्माले भन्नुभयो, “हामीले परीक्षणको रुपमा विद्यार्थीलाई स्वयंसेवी शिक्षकको रुपमा विद्यालय जान आव्हान गरेका छौं । इच्छुक विद्यार्थीको सूचि तयार पारेर उनीहरुलाई पायक पर्ने विद्यालयमा पठाउने तयारी गरिरहेका छौं ।”

निजी विद्यालय प्रिन्सीपल तथा सञ्चालकहरु विद्यार्थीलाई अभिमुखीकरण गराउँदै अन्तरक्रियामा सहभागी हुनुहुँदै ।

स्नातक तह प्रथम वर्षमा अध्ययनरत ७८ जना विद्यार्थी मध्ये करिब ४० जना विद्यार्थी स्वयंसेवी शिक्षकको रुपमा विद्यालय जान इच्छुक देखिएको शर्माले बताउनुभएको छ । “शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीको मूल लक्ष्य नै शिक्षण पेशामा आवद्ध हुने हो”, सहप्राध्यापक डा. शर्माले भन्नुभयो, “सबै विद्यार्थीले विद्यालयसम्म पुगेर आफूलाई प्रस्तुत गर्न सक्षम नहुन पनि सक्ने भएकोले क्याम्पसले नै उनीहरुलाई विद्यालय जान प्रेरित गरेको हो ।” मूल विषय अंग्रेजी, नेपाली, स्वास्थ्य लिएर स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई ३ महिना स्वयंसेवी शिक्षकको रुपमा परिचालनको अनुभवपछि दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई पनि स्वयंसेवी शिक्षकको रुपमा परिचालन गरिने उहाँले बताउनुभयो । स्नातक तहको नियमित पठनपाठनमा प्रभावित नहुने गरी स्वयंसेवी शिक्षकले दैनिक बढीमा ३ वटा घण्टी पढाउने गरी विद्यालयसँग औपचारिक सम्झौता गरिनेछ ।

पालिकाका शिक्षा शाखाका प्रमुखहरु विद्यार्थीलाई अभिमुखीकरण गराउँदै अन्तरक्रियामा सहभागी हुनुहुँदै ।

स्वयंसेवी शिक्षकले विशेषगरी सामुदायिक विद्यालयको शैक्षिक सुधारमा पनि सहयोग पुग्ने विश्वास गरिएको मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक केशवप्रसाद तिमल्सिनाको भनाइ छ । सैद्धान्तिक ज्ञान हासिल गरेका विद्यार्थीले व्यवहारमा पनि प्रभावकारी शिक्षण सिकाईका क्रियाकलाप गर्दा विद्यार्थीमा सकारात्मक प्रभाव पर्ने उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय शैक्षिक संस्थामा जनशक्तिको अभाव समेत भइरहेको सन्दर्भमा विद्यार्थीलाई शिक्षण अभ्यासको अवसरले ३ महिनापछि दक्ष जनशक्ति तयार हुने अपेक्षा मकवानपुर क्याम्पसको छ । विद्यार्थीको क्षमता विकासका लागि क्याम्पसले आवश्यक सहजीकरण गर्ने सहायक क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल बताउनुहुन्छ । विद्यार्थीको व्यक्तित्व, नेतृत्व विकास, अंग्रेजी भाषाको सक्षमता अभिवृद्धिका लागि आवश्यकताअनुसार अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।

नवोदय शिशु सदन माविका शैक्षिक निर्देशक र तालिम संयोजक विद्यार्थीलाई अभिमुखीकरण गराउँदै अन्तरक्रियामा सहभागी हुनुहुँदै ।

स्वयंसेवी शिक्षकको रुपमा विद्यालय जानुअघि विद्यार्थीका लागि मकवानपुर बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायले साउन २ गते हेटौँडा–४ स्थित श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, हेटौँडा–६, गौरिटारस्थित बालजागृति युवा वर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारी, हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माविका प्रधानाध्यापकको उपस्थितिमा अभिमुखीकरण तथा अन्तरक्रिया गराएको थियो । साउन ३ गते हेटौँडा–४, कमलडाँडास्थित नवोदय शिशु सदनका शैक्षिक निर्देशक दिपेश जोशी र तालिम संयोजक अव्यक्त खनाल, साउन ४ गते हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमाल र मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राम बहादुर घलानको उपस्थितिमा अभिमुखीकरण तथा अन्तरक्रियाको आयोजना गरेको थियो । यस्तै साउन ५ गते हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका सहायक प्रिन्सीपल अमुल श्रेष्ठ, हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीकी प्रिन्सीपल प्रतिभा डंगोल र हेटौँडा–१८, खड्कुँलेस्थित मकवानपुर बालविद्या सदनका सञ्चालक सुदीप राज गिरीसँग अन्तरक्रिया गराएको थियो । साउन ५ गते बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालया शिक्षा महाशाखा प्रमुख खुबिराम अधिकारीसँग विद्यार्थीले अन्तरक्रिया गरेका थिए ।

विद्यालयको अवलोकन भ्रमणपछि प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी ।

स्वयंसेवी शिक्षकको रुपमा औपचारिकरुपमा विद्यालयमा जानुअघि विद्यार्थीले हेटौँडाका केही विद्यालयको अवलोकन भ्रमण समेत गरेका छन् । क्याम्पसकै सहजीकरणमा ५ जनाको समूह बनाएर विद्यार्थीले विद्यालयको शैक्षिक क्रियाकलाप, भौतिक पूर्वाधार, विद्यालयको योजना, शिक्षण अभ्यासका विषयमा अवलोकन भ्रमण गरेका हुन् । अवलोकन भ्रमणपछि विद्यार्थीको समूहले प्रस्तुतीकरण समेत गरेका थिए । स्वयंसेवी शिक्षक परिचालनका लागि पालिकाहरुसँग पनि सहकार्यको प्रयास भइरहेको मकवानपुर क्याम्पसले जनाएको छ ।