हेटौंडाः नेपालमा अफिम र गाँजा खेतीका लागि वैधानिकता दिइएको छैन । तर, मकवानपुरका विभिन्न स्थानहरुमा अझै पनि अफिम र गाँजा खेती हुँदै आएको छ ।
मकवानपुरमा प्रहरीले हरेक वर्ष विभिन्न क्षेत्रमा लगाइएको गाँजा र अफिम खेती फडानी गरेर नष्ट गर्ने गरेको छ । हरेक वर्ष फडानी गरेर नष्ट गरे पनि मकवानपुरमा लागूऔषध अफिम खेती बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसारमा मकवानपुरमा पछिल्लो समय अफिम खेती बढेको पाइएको हो । मकवानपुर प्रहरीले गत आर्थिक वर्ष २०७९/०८० मा २ सय २३ विगाह ११ कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फडानी गरेर नष्ट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को भन्दा गत आर्थिक वर्षमा अफिम खेती बढेको हो । प्रहरीले आर्थिक वर्ष २०७८/०७९ जिल्लामा १ सय ४४ विगाह १४ कठ्ठामा लगाएको अफिम खेती नष्ट गरेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा ४१ विगाह ११ कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती नष्ट गरेको थियो ।
मकवानपुरमा गाँजा खेती पनि बढ्न थालेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ सय ५० विगाह १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १ सय ४४ विगाह १ कठ्ठा १६ धुर क्षेत्रफल जग्गामा लगाएको गाँजा खेती नष्ट गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले पछिल्ला वर्षहरुमा लागूऔषध गाँजाभन्दा बढी अफिम खेती हुने गरेको बताउनुभयो । गाँजाको भन्दा बढी रकममा अफिम बिक्री हुने भएपछि गाँजाभन्दा अफिम बढी खेती गरेको हुनसक्ने उहाँको भनाइ छ । अहिले अफिम १ केजीको बजार मूल्य १ लाखसम्म हुने पाइएको उहाँले बताउनुभयो ।
प्रहरी प्रवक्ता कार्कीले मकवानपुरमा खेती हुने गाँजा र अफिम बाहिरका मानिसको लगानी हुने गरेको पाइएको बताउनुभयो । उहाँले जिल्लाका गाँजा र अफिम खेती हुने स्थानमा त्यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । राक्सिराङ गाउँपालिकामा जस्तै अफिम र गाँजाको विकल्पमा कफी खेती गरेर त्यस क्षेत्रमा उत्पादनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।