समीक्षा कार्यक्रममा सहभागीहरु ।

हेटौँडाः मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सञ्चालित पोषणका लागि युवा कार्यक्रमको समीक्षा गरिएको छ । एक वर्षको अवधिमा विद्यालय र समुदायमा आधारित भएर सोचाइ नामक संस्थाले सञ्चालन गरेको परियोजनाको समीक्षा गरिएको हो । सुरक्षित महिनावारी र पोषणमालाको विषयमा सोचाइले स्थानीय किशोर–किशोरीलाई प्रशिक्षित गराएर समुदायमा सचेतनाको अभियान सञ्चालन गरेका थिए ।

उनीहरुले मनहरीको ३, ४ र ६ नम्बर वडालाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । समीक्षा कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । मनहरी र राक्सिराङमा परिचालित किशोरकिशोरीको पनि सहभागिता रहेको कार्यक्रममा परियोजनाका बारेमा सोचाइकी संस्थापक नेहा मल्लले जानकारी दिनुभएको थियो ।

सुरक्षित महिनावारी र पोषणमालाको विधिमार्फत सचेतना अभिवृद्धिका लागि किशोरकिशोरीलाई तालिम दिएर समुदाय र विद्यालयमा परिचालित गरिएको मल्लले बताउनुभएको छ । एक वर्षको अवधिमा गरिएका क्रियाकलापको प्रभावकारिता मूल्यांकन गरेर पालिकाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिएको छ ।