हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले चालु चालु आर्थिक बर्षबाट सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलब मासिकरुपमा भुक्तानी गर्ने जनाएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै मासिकरुपमा तलब भुक्तानी गर्ने जनाएको हो । यसअघि पालिकाका शिक्षकले त्रैमासिकरुपमा तलब बुझ्दै आएका थिए ।
मनहरी गाउँपालिकाको शिक्षा विकास शाखाका प्रमुख हरिचन्द्र सापकोटाले संघीय सरकारको सशर्त अनुदानबाट तलबभत्ता खाने सबै शिक्षक, कर्मचारीलाई व्यक्तिगत खाता नम्बर उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो । विद्यालयमा दरबन्दी, राहत अनुदान कोटाका शिक्षक, बाल विकास शिक्षक र विद्यालय कर्मचारीको बैंक खाता खोली खाता नम्बरसहितको विवरण यही साउन २० गतेभित्र पालिकालाई उपलब्ध गराउन आग्रह गरिएको छ । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ८ वटा मावि, ६ वटा निमावि, १८ वटा प्राथमिक तहका विद्यालय छन् ।
२ सय १० जना दरबन्दी तथा राहतको कोटामा शिक्षक रहेको मनहरी गाउँपालिकाका स्रोत शिक्षक पूर्णभद्र भुषालले जानकारी दिनुभयो । ६० जना निजी श्रोतका छन् । ३९ जना बाल विकास सहजकर्ता तथा शिक्षक छन् । यस्तै कर्मचारी ४० जना छन् । जसमा कार्यालय सहयोगी ३२ जना र लेखा कर्मचारी ८ जना छन् । ती शिक्षक कर्मचारीको तलबभत्ता सरकारी नियमअनुसारको बैंकबाट भुक्तानी दिन लागिएको बताइएको छ ।