हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने प्रदेशको गौरवको आयोजना पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) ४ वर्षमा सम्पन्न गरिने भएको छ । बागमती प्रदेशका आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा योजना प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाईले डिजाइन एन्ड बिल्ड प्रक्रियाबाट अबको ४ वर्षमा सुरुङमार्ग सम्पन्न गरिने बताउनुभयो ।

त्यस्तै नीति तथा कार्यक्रममा हेटौंडादेखि काठमाडौंसम्म जोड्ने मदन भण्डारी मार्ग अन्तर्गत भैंसे–भीमफेदी, कुलेखानी–सिस्नेरी, छैमले–दक्षिणकाली सडक दुई लेनको कार्यलाई आगामी आर्थिक वर्ष २०७७-७८ मा पनि निरन्तरता दिइने भएको छ ।

यसैगरी “मुख्यमन्त्री सडक कार्यक्रम” अन्र्तगत लोकमार्ग, प्रदेश लोकमार्ग र जिल्ला सदरमुकामसँग स्थानिय तहहरुको केन्द्र जोड्ने सडकहरु संघिय सरकारको सहकार्यमा वर्षैभर सञ्चालन हुने गरी आगामी ५ वर्षभित्र स्तरोन्नती गरिने भएको छ ।

“पुष्पलाल प्रदेश चक्रपथ” (रामेछाप–दोलखा काभे्रेपाल्नचोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली–रामेछाप्र जोड्न बाँकि सिन्धुपाल्चोक रसुवा खण्डको निर्माण कार्य अगाढि बढाउने कार्यलाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यसैगरी बागमती प्रदेशको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकाका ३ जिल्लाका काठ क्षेत्रमा सञ्चालनमा रहेका सडकहरुलाई स्तरोन्ती गर्दे काठ चत्रपथको रुपमा विकास गर्ने जनाइएको छ ।