नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै व्यवसायी ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षत्रेमा २५ मिटर सडक विस्तारको विषयमा हेटौैँडाका व्यवसायीले राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको सडक चौडा गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय हेटौँडाले असार १० गते सूचना जारी गर्दै ३५ दिन भित्र घर–टहरा हटाउन सार्वजनिक सूचना जारी गरेको छ । सडक डिभिजनको सूचनाको विरुद्धमा व्यवसायीहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

व्यवसायीसँग कुनै सल्लाह नै नभई सुचना जारी भएको र छोटो समयको सूचना भएकोले व्यवसाय स्थानान्तरण गर्न समस्या हुने गुनासो रहेको छ । आफुहरु विकास विरोधी नभएको र सम्बन्धित निकायले व्यवसायीको हितको काम गर्नुपर्ने व्यवसायीको माग रहेको छ । बिहिबार व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएका थिए ।