Home मुख्य समाचार आज केही विद्यालयमा बिदा

आज केही विद्यालयमा बिदा

गुगल तस्बिर ।

हेटौंडाः आज सोमबार हेटौंडा उपमहानगरभित्रका केही विद्यालयमा बिदा दिइएको छ । स्थानीय बिदाबाट कटौती हुने गरीे साउने संक्रान्तिका दिन विद्यालयमा पठनपाठन बन्द गरेर बिदा दिइएको हो ।

हेटौंडा–१, चाइनाक्वाटरमा रहेको अमर माध्यमिक विद्यालय आज बन्द हुनेछ । विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीका अनुसार स्थानीय बिदाबाट कटौती हुने गरी विद्यालय बिदा गरिएको बताउनुभयो । एक वर्षमा विद्यालयले ५ दिन स्थानीय बिदा दिन पाउनेछन् । सोही बमोजिम गत शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकले आज विद्यालय बन्द गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

हेटौंडा–१७, हटियाको लक्ष्मीपुरमा रहेको लक्ष्मी आधारभूत विद्यालयले पनि स्थानीय बिदाबाट मिलान हुने गरी सोमबार विद्यालयमा पठनपाठन बन्द गरिएको जनाएको छ । आइतबार विद्यालयले सूचना जारी गर्दैै साउने संक्रान्ति पर्व परेकाले पठनपाठन बन्द गरिएको बताएको हो । लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्यायका अनुसार मंगलबारदेखि विद्यालय खुला हुनेछ ।

हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले पनि आज सोमबार विदा दिएको छ । विद्यालयको शैक्षिक क्यालेण्डरमै उल्लेख गरेर आज साउने संक्रान्तिको अवसरमा स्थानीय विदाबाट मिलान हुनेगरी बिदा दिइएको विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो । विद्यालयले शैक्षिक सत्रको सुरुवातमै वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी विद्यालयले दिने स्थानीय विदा मिलान गरिसकेको उहाँले बताउनुभयो ।

हेटौंडा–४ मै रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा पनि आज बिदा दिइएको छ । विद्यालयका परीक्षा शाखा प्रमुख कृष्णगोपाल श्रेष्ठका अनुसार स्थानीय बिदा कटौती हुने गरी आज एक दिन विद्यालय बन्द गरिएको हो ।

हेटौंडा–४ को भूटनदेवी माध्यमिक विद्यालयमा भने विदा दिइएको छैन । विद्यालयका प्रधानाध्यापक माधव दाहालका अनुसार विद्यालय बन्द गरिएको छैन । विद्यालय बन्द गर्ने निर्णय नभएकाले विद्यालयमा नियमित पठनपाठन हुने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरभित्र ४८ वटा संस्थागत र ७३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

Exit mobile version