हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माविमा वृक्षरोपण गरिएको छ । गत शुक्रबार विद्यालय परिसरमा आँप, लिच्ची, एभोकाडो, अम्बा, अमला, धुपी, कपुर, घण्टी फुल र करिब ६० वटा बिरुवा रोपिएको छ । विद्यालय परिसर अशोक, अमला, कपुर हुर्केका रुखहरु छन् ।
विद्यालय परिसरलाई हरियाली बनाउन डिभिजन वन कार्यालय मकवानपुरबाट निशूल्क बिरुवा प्राप्त भएको प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभएको छ । विद्यार्थीका लागि खेलकुद गतिविधि सञ्चालन गर्न मिल्ने गरी खेलमैदानको वरिपरी वृक्षरोपण गरिएको प्रधानाध्यापक गौतमले बताउनुभएको छ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा ३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन् । जालपादेवीमा १६ जना शिक्षक, लेखापाल १ जना, दुइजना कर्मचारी छन् ।
जालपादेवीमा कक्षाकोठाको अभाव रहेको प्रधानाध्यापक बताउनुहुन्छ । कक्षाकोठाको अभावमा कोठालाई जस्ताले बारेर एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्न बाध्य भएको उहाँको भनाइ छ । प्रयोग भइरहेको कक्षाकोठामा पानी पर्दा चुहिने समस्या छ । प्लान इन्टरनेशनलको सहयोगमा गत शैक्षिक सत्रमा १३ लाख रुपैयाँ बजेटबाट नर्सरी, बालविकास कक्षा र कक्षा १ का लागि नमूना कक्षाकोठा तयार पारिएको छ । प्रारम्भिक बालविकास कक्षाका लागि टिभि, स्पीकरण समेत रहेको विद्यालयमा नमूना कम्प्युटर प्रयोगशाला र विज्ञान प्रयोगशाला रहेको प्रधानाध्यापक गौतम बताउनुहुन्छ । विद्यालयमा बालमैत्री खेलमैदान र पुस्तकालयको अभाव रहेको उहाँको भनाइ छ ।
प्रधानाध्यापक गौतमले सहयोगीसँग ८ थान पंखाको व्यवस्थापन गरिएको बताउनुभयो । प्रदेशको विद्यार्थी केन्द्रित कार्यक्रमअन्तर्गत सामाजिक र गणित प्रयोगशाला निर्माणको कार्य भइरहेको उहाँले बताउनुभयो । यसै शैक्षिकसत्रदेखि बागदलीस्थित ईश्वरी आधारभूत विद्यालय जालपादेवी माविमा गाभिएको छ । ५ कक्षासम्म पठनपाठन हुने ईश्वरी आधारभूत विद्यालयका २१ जना विद्यार्थी जालपादेवीमै गाभिएका छन् । विद्यार्थी गाभिए पनि शिक्षक र कर्मचारी भने नगाभिएको प्रधानाध्यापक गौतमले गुनासो गर्नुभएको छ । ईश्वरीमा ३ जना शिक्षक, एकजना सहायक, एकजना बालविकास सहजकर्ता थिए ।