हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माविले एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । जिपिए ३.६ देखि ४ हासिल गर्ने ४ जना विद्यार्थीलाई जनही ५ हजार नगद र प्रशंसापत्रसहित सम्मान गरिएको छ । त्यस्तै जिपिए ३.२ देखि ३.६ हासिल गर्ने १६ जना विद्यार्थीलाई जनही ३ हजार नगद र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
एसईईमा सहभागी ९८ जना विद्यार्थीलाई प्रशंसापत्र र खादासहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभएको छ । विद्यार्थीको राम्रो नतिजाका लागि सहयोग गर्ने शिक्षकहरुलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ । समग्रमा सबैभन्दा बढी ए प्लस ग्रेड ल्याउन सफल साधारण धारतर्फका शिक्षक रविन श्रेष्ठ, प्राविधिक धारतर्फका शिक्षक सुजन कँडेल कार्यक्रममा सम्मान गरिएको छ ।
उच्चतम औषत जिपिए प्राप्त गर्ने विधातर्फ साधारण र प्राविधिक धारतर्फ क्रमशः रविन श्रेष्ठ र विजय थिङ्ग, विषयगत रुपमा शत्प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरु अणिमा पोखरेल, विजय थिङ्ग र दिनेश लामा सम्मानित भएका छन् । विद्यालयको नतिजा र सफलतामा सबै शिक्षकको उत्तिकै मिहिनेत र भूमिका रहेको ठहर गर्दै विद्यालयका सम्पूर्ण शिक्षकलाई पनि कार्यक्रममा टिका र खादा तथा डायरीसहित सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षता तथा वडाअध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्यहरु गुरुप्रसाद ढकाल, राजन दाहाल, संगीता विश्वकर्मा, कमला धिमालको पनि उपस्थिति रहेको थियो ।
जनप्रियले सम्मान कार्यक्रमसँगै बुधबार एसईई उत्तीर्ण विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम आयोजना गरेको छ । जनप्रिय माविले यसै शैक्षिक वर्षदेखि सञ्चालनमा ल्याउने अंग्रेजी माध्यम सहितको व्यवस्थापन संकाय तथा प्राविधिक धारतर्फका संकायमा विद्यार्थीले आफ्नो रोजाई रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका सिटिइभिटितर्फका अनिल सापकोटा, प्राविधिक धारतर्फका सुजन कँडेल, नेपाली माध्यमका संयोजक नीरबहादुर खड्का, अग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, व्यवस्थापन समिति सदस्य कृष्ण प्रसाद पनेरु एवम् प्रधानाध्यापक भुपेन्द्र चौलागाईले विद्यार्थी परामर्श गर्नुभएको हो ।
