हेटौँडाः लामो समयदेखि साइकल अभियानमा क्रियाशील अभियानकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीले शनिबार हेटौँडामा कोरा साइकल च्यालेन्ज गर्ने भएको छ । करिव २ वर्षअघि हेटौँडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुुरले असार ३० मा कोरा च्यालेन्ज आयोजना गर्न लागेको हो । सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो ।
संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालभर र हेटौँडामा पनि एकदिन अगाडि नै आयोजना गर्न लागेको हो । विशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज शनिबार बिहान ६ बजे हेटौँडा–४, हुुप्रचौरस्थित पशुपतिनाथ मन्दिरबाट सुरु भई रानीमन्दिर, कुुष्माण्ड सरोवर त्रिवेणीधाम, राम–हनुमान मन्दिर, ब्रम्हकुमारी राजयोग, सन्तोषीमा, रत्नकाली, दक्षिणकाली, मुक्तिनाथ, मुक्तेश्वर, बुढानीलकण्ठ, कल्याणेश्वर, लक्ष्मीनारयण, कृष्णप्रणामी, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, पूण्यक्षेत्र, गोरक्षश्वर, जलेश्वरलगायत २० वटा मन्दिर परिक्रमा गरिँदैछ ।
सोसाइटीले बुधबार भुटनदेवी मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी कोरा च्यालेन्जको जानकारी दिएको हो । २० वटा भन्दा बढी मन्दिर परिक्रमापछि भुटनदेवी मन्दिरमा कार्यक्रमको समापन गरिने सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । कोरा च्यालेन्जका सहभागी साइकलयात्रीलाई हेटौँडा उपमहानगरका वडा नम्बर १, २, ४, ५ का कार्यालय, विभिन्न मन्दिर व्यवस्थापन समितिहरुले स्वागत गर्नेछन् । कोरा राइडर्सलाई नेपाल टेलिकम हेटौँडा शाखाले मुख्य प्रायोजन गर्दैछ भने होटल स्मारक सहप्रायोजकको भूमिका निर्वाह गर्दैछ ।
करिव २५ किलोमिटर धार्मिक साइकल यात्रा गर्न कम्तिमा ८ वर्षदेखि ७० वर्षसम्मका करिव २०० जना साइकलयात्री सहभागी हुने सोसाइटीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । कोरा च्यालेन्जको मुुख्य आकर्षणको रुपमा यो वर्ष हेटौँडा–१ को महिला १८ जनाको समूहले पञ्चैबाजा बजाएर साइकल र्यालीलाई साथ दिनेछन् । कोरा च्यालेन्जमा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, स्कार्फ, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । यो कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सोसाइटीका प्रेस सल्लाहकार भानुभक्त आचार्यले जानकारी दिनुभएको छ ।
