कर्मचारीलाई सम्मान गर्दै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट सर्वसम्मत पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रस्तुत गर्नुभएको ८१ करोड ७० लाख १४ हजार रुपैयाँको बजेट आइतबार सर्वसम्मत पारित भएको हो ।
उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५४ करोड ४५ लाख ६४ हजार रुपैयाँ र पुँजीगततर्फ २७ करोड २४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गर्नुभएकोमा सर्वसम्मत पारित भएको छ । गाउँपालिकालाई संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३१ करोड ५५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ ३ करोड ९ लाख १४ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

उपाध्यक्ष खत्रीले पालिकाको ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघीय सरकारबाट प्राप्त समपूरक अनुदानवापत १ करोड रुपैयाँँ बागमती प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान २ करोड रुपैयाँमा पालिकातर्फबाट उक्त योजनाहरु कार्यान्वयन गर्नका लागि समपूरक कोषमा ३ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । संघीय सरकारबाट प्राप्त विशेष अनुदान १ करोड ८० लाख रुपैयाँ तथा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान १ करोड रुपैयाँलाई हात्तीसुँडे डिपबोरिङ वाटर सप्लाई तथा गौतमबुद्ध पर्यटन पार्क निर्माण सम्पन्न गर्न खर्च गरिने भएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा विभिन्न विषयगत कार्यालयहरुका लागि सञ्चालन खर्चतर्फ ११ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, वडाहरुको समानुपातिक विकास गर्नका लागि प्रत्येक वडामा ४५ लाखको दरले बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका बहुवर्षीय ठेक्का भएका योजनाहरु सम्पन्न गर्नका लागि ४ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कृषि तथा पशुजन्य उत्पादनलाई प्रवद्र्धन गर्न बकैया कृषि औद्योगिक ग्रामको भौतिक निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ । कृषिसम्बन्धी नीति कार्यान्वयन गर्नका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, मौलिक भान्सा सुधार कार्यक्रमअन्तर्गत् एक घर एक करेसाबारी निर्माण गर्नेमध्ये उत्कृष्ट व्यक्ति तथा परिवारलाई प्रोत्साहनस्वरुप बजेट विनियोजन भएको छ । पशु बीमा कार्यक्रम सञ्चालनलगायतका कार्यक्रम कार्यान्वयन गर्न ३ करोड १८ लाख बजेट विनियोजन भएको छ ।

शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयहरुको भौतिक पूर्वाधारको सुधार गरिने भएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरुलाई उत्प्रेरित गर्न मासिक थप २ हजार रुपैयाँका दरले तलब वृद्धि हुनेगरी १८ लाख ५० हजार बजेट विनियोजन भएको छ । आधारभूत र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने भएको छ ।

गाउँपालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका संरचना र स्थानको विकास, विस्तार र संरक्षणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न विपद् तथा प्रकोप व्यवस्थापन कोषमा बजेट विनियोजन भएको छ ।

देशकै दोस्रो बालमैत्री गाउँपालिकाको रूपमा घोषित पालिकाले बालमैत्री शासनको दिगोपनाका लागि बालमैत्री अभियानलाई निरन्तरता दिने भएको छ । लैंगिक सशक्तिकरण तथा सामाजिक समावेशीकरण प्रवद्र्धन गर्न सीप तथा क्षमता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण र लागूपदार्थ विरुद्धको सचेतनामूलक कार्यक्रमलगायतका कार्यक्रम सञ्चालन गर्न ५२ लाख ३५ हजार बजेट विनियोजन भएको छ ।

खेलकुद क्षेत्रमा पालिकास्तरीय प्रतियोगिता सञ्चालनका लागि ३५ लाख बजेट विनियोजन भएको छ । यस्तै, स्वास्थ्य क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न १ करोड १८ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

गाउँपालिका भित्रमा ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाहरु नापी गरेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन न्यायिक समितिका सदस्य तथा मेलमिलापकर्ताहरुलाई आवश्यक तालिम, मेलमिलाप केन्द्र प्रोत्साहन तथा सुरक्षित आश्रयस्थलसहितको सामुदायिक सेवा केन्द्र सञ्चालनका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाभित्रको आर्थिक विपन्न समुदायका लागि शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता परिपूर्तिका लागि विपन्न नागरिक आकस्मिक कोषको व्यवस्था गरिएको छ । यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, आर्थिकरुपमा पछाडि परेका वर्ग तथा समूदायहरुलाई व्यावसायिकरुपमा कृषि तथा पशुजन्य उत्पादनमा आधारित व्यवसाय लघुउद्यम सञ्चालन तथा व्यवस्थापनका लागि गरिबी निवारण जोखिम कर्जा कोषको व्यवस्था गरी ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधिको लागि १० लाखसम्मको सामूहिक दुर्घटना बीमाको लागि बजेटको विनियोजन भएको छ ।