हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले डेङ्गु रोग रोकथामका लागि भन्दै किटनाशक औषधी छर्ने स्प्रेयर वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी वडाले वडाभित्रका टोल विकास संस्थालाई स्प्रेयर वितरण गरेको हो ।
स्प्रेयर वितरण गर्नुहुँदै वडाध्यक्ष विष्णु गोपाल महर्जनले डेङ्गु रोग लाग्नबाट जोगिन पूर्वतयारी स्वरुप वडाले स्प्रेयर वितरण गरिएको बताउनुभयो । उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि अहिले मूल सडक क्षेत्रहरुमा मात्र औषधी छर्कदै आए पनि सबै ठाउँमा छर्कन नपाउँदा डेङ्गु देखिने डर भएको उहाँले बताउनुभयो । वडाभित्रका टोल विकास संस्थालाई स्प्रेयर वितरण गरेपछि आवश्यकता अनुसार फोहोर पानी जमेको ठाउँहरुमा औषधी छर्कन सकिने भएकाले स्प्रेयर वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले केही दिनमा वडाले वडाबासीलाई डेङ्गुबारे सूचित गराई आफ्नो घर वरीपरी जमेको फोहोर पानी हटाउन लगाउने र अनुगमन गर्ने क्रममा त्यसो गरेको नपाइएमा आवश्यक कारबाही गरिने बताउनुभयो ।
वडाभित्रका २० वटा टोल विकास संस्थालाई एक–एक थान स्प्रेयर वितरण गरिएको हो । स्प्रेयर चार्जबाट पनि चलाउन सकिने र चार्ज सकेपछि हातले चलाउन सकिने जनाएको छ । ६ घण्टा चार्ज गरेपछि १६ लिटरको स्प्रेयर २० ट्याङ्कीसम्मका लागि प्रयोग गर्न सकिने जनाएको छ । वडाले करिब १ लाख रुपैयाँ बराबरको स्प्रेयर र किटनाशक औषधी वितरण गरिएको हो । स्प्रेयर वितरण कार्यक्रममा वडा सदस्य सुरज बर्तौलाको पनि उपस्थिति रहेको थियो ।