हेटौंडाः गणित विषयको अध्ययन, अध्यापनमा प्रभावकारी मानिएको जियो–जेब्रासम्बन्धी ५ दिने तालिम आइतबारबाट सुरु भएको छ । शैक्षिक तालिम केन्द्र (इटीसी) चितवनको संयोजन तथा गणित शिक्षक परिषद् मकवानपुरको आयोजनामा भएको तालिममा मकवानपुर र चितवन जिल्लाका निजी तथा सरकारी विद्यालयका ६० जना शिक्षकको सहभागिता रहेको छ ।
अनलाईनमार्फत सञ्चालन हुने तालिममा सहभागी हुन ७० जनाले अनलाइनमार्फत नै आवेदन दिएको गणित शिक्षक परिषद् मकवानपुरका सचिव विनोद सुवेदीले जानकारी दिनुभयो । तालिममा इटीसीका अध्यक्ष गुरुप्रसाद पौडेल र भेगलाल बरालले सहजीकरण गर्नुहुनेछ । दैनिक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तालिम सञ्चालन हुनेछ । गणित विषयको अध्ययन–अध्यापनका लागि थ्रीडी प्रविधिमा आधारित भएर अनलाइन वा अफलाइन समेत प्रयोग गर्न सकिने प्रणाली बारे तालिममा शिक्षकहरुलाई प्रशिक्षित गराइनेछ ।
अनलाइनमार्फत नै आयोजना गरिएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गणित शिक्षक परिषद् बागमती प्रदेश समितिका अध्यक्ष अवतार सुवेदी, बागमती प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रमणि लुइटेल, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, गणित शिक्षक परिषद् मकवानपुरका अध्यक्ष धनिकलाल साहको पनि सहभागिता रहेको थियो ।