एक सेवाग्राहीको भिडियो एक्सरे गरिँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको दुईदिने निशूल्क स्वास्थ्य शिविरमा ३ हजार २ सयले सेवा लिएका छन् । काठमाडौं मेडिकल कलेजका चिकित्सकको टोलीले शुक्रबार र शनिबार दुईदिन स्वास्थ्य परीक्षण गरेका थिए ।

हाडजोर्नी, बालस्वास्थ्य, महिला तथा प्रसुती, मुटुसम्बन्धी, दाँतसम्बन्धी, नाक, कान, घाँटी, रक्तपरीक्षण, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । हेटौँडा नगर क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर म्यानेजमेन्टकै परिसरमा आयोजित शिविरमा उपमहानगरसँगै जिल्लाका अन्य पालिकाबाट पनि स्वास्थ्य परीक्षणका लागि सर्वसाधारण आएको म्यानेजमेन्टले जनाएको छ । म्यानेजमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरको आयोजना गरेको हो ।

शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको शिविरको समापनको अवसरमा म्यानेजमेन्टले काठमाडौं मेडिकल कलेजबाट आएका चिकित्सक, व्यवस्थापक, स्वास्थ्यकर्मीको टोलीलाई मायाको चिनोस्वरुप काठको ठेकी हस्तान्तरण गरेको छ । स्वास्थ्य शिविरमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको पूर्वविद्यार्थीहरुको संगठनले पनि सहयोग गरेको थियो । हेटौँडा स्कुल अफ म्यानेजमेन्ट अल्मुनाई एसोसिएसनले निशूल्क पिउने पानी र मास्क वितरण गरेको थियो । शिविरमा म्यानेजमेन्टका शिक्षक, कर्मचारी र विद्यार्थीले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।