हेटौंडा अस्पतालको तस्विर ।

हेटौँडाः मनसुन सक्रिय भएर वर्षा सुरु भएसँगै बालबालिकामा झाडापखालाको समस्या बढी देखिएको छ । हेटौँडा अस्पतालमा उपचारमा आउने बालबालिकाहरुमध्ये धेरैमा झाडापखालाको समस्या देखिएको हो ।

अस्पतालमा उपचारका लागि आउने अधिकांश बालबालिकामा वान्ता हुने र पखाला लाग्ने सामान्य रोगको समस्या पाइएको अस्पतालका बाल स्वास्थ्य विशेषज्ञ डा. मनदीप गौतमले बताउनुभयो । बालबालिकामा निमोनिया, टन्सिल, संक्रमण रोग, पिसाबी रोग आदि देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

वातावरण प्रदूषण भएको, सरसफाई नभएको तथा वर्षाका कारण धेरैमा मौसमी रोग डेंगु पनि देखिएको बताइएको छ । सरसफाईमा ध्यान नदिनु, फोहोर पानीको प्रयोग गर्नु, बाहिरको खाना खानु झाडापखालाको मुख्य कारण रहेको डा. गौतमको भनाइ छ । अस्पतालमा उपचारका लागि आएका केही बालबालिकामा काम्ने रोगसमेत पाइएको उहाँले जानकारी दिनुभयो ।

हेटौँडा अस्पतालमा दैनिक औसत १ सय २५ जना बालबालिका स्वास्थ्य उपचारका लागि आउने गरेका छन् । सामान्यतयाः १४ वर्षसम्मका बालबालिकाको स्वास्थ्य परीक्षण बाल स्वास्थ्य विशेषज्ञबाट गरिने भए पनि १६ वर्षसम्मका बिरामी बालबालिकाको पनि स्वास्थ्य परीक्षण बाल स्वास्थ्य विशेषज्ञले गर्ने गरेको डा. गौतमले जानकारी दिनुभयो । अस्पतालमा बालरोगका ३ जना विशेषज्ञ चिकित्सक रहेका छन् । जाडो महिनामा बालबालिकामा धेरै समस्याको रुपमा देखिने रुघाखोकी अहिले गर्मीमा पनि देखिएको डा. गौतमले बताउनुभयो ।