फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका विद्यालयहरुमा साउन ५ देखि १५ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुने भएको छ । पालिकाले सूचना जारी गर्दै प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुने जानकारी गराएको गाउँपालिकाका स्रोत शिक्षक पूर्णभद्र भुसालले जानकारी दिनुभयो ।

पालिकामा ३२ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् । पालिकामा ४ वटा विद्यालयमा कक्षा १२ सम्म, ४ वटा विद्यालयमा कक्षा १० सम्म, ६ वटा विद्यालयमा ८ कक्षासम्म र १८ वटा विद्यालयमा ५ कक्षासम्म अध्यापन हुने उहाँले जानकारी दिनुभयो ।

विद्यालयको वार्षिक तालिकाअनुसार असार ३१ गतेदेखि लिने भनिएको परीक्षा जेठ २२ गतेदेखि ३१ गतेसम्म ९ दिन गर्मी विदा दिइएकाले परीक्षा सरेको उहाँले जानकारी दिनुभयो । पालिकाले परीक्षा सकिएपछि साउन १६ गतेदेखि ३२ गतेसम्म वर्षे विदा दिने निर्णय गरेको छ । भदौ १ गतेदेखि विद्यालयमा पठनपाठन सुचारु हुनेछ ।